‘लागूऔषधबाट मुक्त भएपनि समाजले उही नजरले हेर्दा मनोबल घट्छ’

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-४ का सुवास गिरी एकता पुनःस्थापना केन्द्रमा काम गर्छन्। उनी विगतमा आफै लागूऔषधको दलदलमा फसेका थिए। लागूऔषधको अन्धकारबाट बाहिर निस्कन उनलाई चार वर्ष लाग्यो। जब उनी लागूऔषधबाट मुक्त भए तब लागूऔषधमा फसेका युवाहरूलाई पुनःस्थापना केन्द्रमै ‘काउन्सिलिङ’ गर्न थाले।
अहिले गिरी हरेक दिन लागूऔषधमा फसेकाहरूलाई काउन्सिलिङ गरेर नयाँ जीवनको बाटो देखाउन मै व्यस्त हुन्छन्। तर, उनलाई हेर्ने समाजको नजर अझै परिवर्तन भएको छैन। पुरानै दोषीको नजरले हेर्ने प्रवृत्तिले ‘रिकभर’ भएकाहरूको मनोबल कमजोर बनाइरहेको छ। ‘हामी समाजमा हिँड्दा वा बोल्दा समाजका मान्छेहरूको नजर फरक हुन्छ। हामीलाई पहिलेकै जस्तो अवस्थामा हेर्छन्,’ उनले भने, ‘कुनै समय र परिस्थितीले हामी त्यसमा लाग्न बाध्य भयौँ। जबकी हामी आफ्नो अनुभवका आधारमा अरूलाई त्यसबाट बचाउन अथक प्रयास गरिरहेका छौँ।’
त्यस्तै भैरव युवा क्लबका सदस्य चन्द्रबीर विश्वकर्माले लागूऔषधको समस्या सेवनकर्तामा नभएर डिलरमा भएको बताए। ‘समाजमा लागूऔषधको बिगबिगी प्रयोगकर्ताले होइन, डिलरले गरेका छन्,’ उनले भने, ‘कारोबारको जालो डिलरले फैलाएका हुन्। त्यसैले नियन्त्रणको पहिलो कदम डिलरमाथि कारबाही हुनुपर्छ।’ उनका अनुसार लागूऔषधमा फसेकाहरूलाई सजाय होइन उपचार प्राथमिक आवश्यकता हो। रोजगारी र घरायसी माया नपाउँदा धेरैजसो पुनः पुरानै जीवनमा फर्किन बाध्य हुने गरेको उनले बताए।
रिकभरी नेपालका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराईले लागूऔषधमा फसेकाहरूको विषय कुनै परिवारको मात्र नभई सामाजिक र राजनीतिक विषय हुन आवश्यक रहेको बताए। ‘यो सामूहिक चुनौती हो, यसलाई विद्यालयदेखि समुदायसम्मको सचेतनासँग जोड्नुपर्छ। यसलाई सामाजिक र राजनीतिक एजेन्डा नबनाएसम्म यसको न्यूनीकरण हुन असम्भव छ,’ उनले भने, ‘रिकभर भएकाहरूको अनुभवलाई सरकार र संस्थाले नीतिगत रूपमा उपयोग गर्नुपर्छ।’ यो विषय जसलाई पर्यो उसको परिवारका लागि मात्रै नसोची सबैले हातेमालो गर्नुपर्ने, न्यूनीकरणका लागि बालबालिकालाई लक्षित गरी सचेतनाका कार्यक्रमहरू समुदायसम्म पुर्याउनुपर्ने सुझाव दिए।
उनले न्यूनीकरणका लागि लागूऔषधमा लागेर रिकभर भएकाहरूसँगै जान सके थप सहज हुने बताए। ‘रिकभर भएकाहरूलाई यस्ता कार्यक्रमहरूमा सँगै लिनुपर्छ। ताकी उनीहरूको अनुभवबाटै मानिस सचेत होस्,’ अध्यक्ष भट्टराईले भने, ‘रिकभर भएकाहरूलाई सबैभन्दा पहिलो साथ परिवारको चाहिन्छ। परिवारलाई पनि परामर्श दिनुपर्छ।’ लागूऔषधमा लागेकाहरूलाई उपचार पद्धति भुगोल अनुसार हुनुपर्ने उनको भनाई छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीर राज शाहीले सुर्खेत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको बताए। ‘उत्तरका हिमाली जिल्लाबाट गाँजा, चरेस, अफिम लगायतका लागूऔषध भारत जाने र भारतबाट हिरोइन, ब्राउनसुगर यहाँ आउने क्रम बढेको छ,’ उनले भने, ‘उच्च मुनाफा हुनुका कारण अपराधीहरू यसमा आकर्षित भएका छन्।’
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जम्मा ७ सय ११ वटा परेका मुद्दाहरूमा १ सय २३ वटा मुद्दा लागूऔषधका रहेका थिए। जसमा १ सय ८२ जनालाई कानुनी प्रक्रियामा ल्याइएको थियो।
उनले कर्णाली प्रदेशको राजधानी तथा मुख्य प्रवेशद्वार भएका कारण चुनौती थपिएको बताए। ‘अफिम लगायत लागूऔषध कारोबारीहरूले नक्कली नोटको प्रयोग गर्न थालेका छन्। कारोबारमा भारतीय नागरिक र नेपाली ठूला अपराधीहरूको लगानी हुन सक्ने अनुमान प्रहरीले गरेको छ,’ उनले भने, ‘किशोर, किशोरी र युवा उमेरकाहरू बढि प्रभावित भएका छन्।’
कर्णालीमा बढ्दो लागूऔषध दुरुपयोग रोक्न विद्यालय, क्याम्पसदेखि सार्वजनिक स्थलसम्म कानुनी दण्ड र स्वास्थ्य असरबारे सचेतना फैलाउनुपर्ने, सीमित पुनःस्थापना केन्द्रको क्षमता बढाउनुपर्ने, र बेरोजगार युवालाई खेलकुद, कला र उद्यमशीलतामा संलग्न गराउने जस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाई छ।
कर्णाली लुम्बिनीसँग जोडिएको प्रदेश भएकोले भारतबाट लागूऔषधको ओसारपसार सजिलो छ। यसलाई रोक्न सीमा क्षेत्रमा सुरक्षा निगरानीमा कडाई, फार्मेसी र मेडिकल पसलहरू मार्फत हुने कारोबारलाई नियन्त्रण गर्नुपर्ने सरोकारवालहरूको सुझाव छ।
साउन ३०, २०८२ शुक्रबार १८:४९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।