टप एण्ड टी-२० सिरिजमा अस्ट्रेलियाको एनटी स्ट्राइकसँग पराजित भयो नेपाल

काठमाडौं : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग पराजित भएको छ। नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो।
डार्विनमा शुक्रबार सम्पन्न खेलमा एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याउँदै नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए भने गुलशन झाले २६ र कप्तान रोहित पौडेलले २३ रनको योगदान दिए। एनटीका म्याट हामोन्डले ३ विकेट लिँदै बलिङतर्फ चम्किए। टम एन्ड्रयुज र केन रिचार्डसनले २–२ तथा हामिश मार्टिनले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन जोडेको थियो। कप्तान तथा ओपनर डार्सी शर्टले ५१ रनको अर्धशतक प्रहार गरे भने टम एन्ड्रयुजले अविजित ३२ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए। शाहब आलमले २, जबकि रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १–१ विकेट हात पारे। नेपालले अब शनिबार बंगलादेश ‘ए’ विरुद्ध खेल्नेछ।
साउन ३०, २०८२ शुक्रबार १७:५१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।