लागूऔषध कारोबारी जाइलागेपछि प्रहरीले गोली चलायो, चार जना नियन्त्रणमा

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी रामबहादुर घर्तीका अनुसार सुरुवातमा दुई जनालाई मात्र नियन्त्रणमा लिन खोजिएको थियो। तर घटनास्थलमा चार जना भेटिएका कारण दुई जनालाई पक्राउ गरेपछि बाँकी दुईजनाले ढुङ्गामुढा गर्दै भाग्न प्रयास गरेका थिए। ‘सूचना पाएर दुई जनालाई पछ्याएका थियौँ, तर त्यहाँ चार जना रहेछन्। दुईलाई समातेपछि अरू दुईले ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर दुई राउण्ड गोली चलाइयो,’ घर्तीले भने।
पक्राउ पर्नेमा नेपालगञ्ज-५ का २२ वर्षीय अमन साह, सोही ठाउँका २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्तिक कुमार छन्।
गोली कार्तिकको दायाँ खुट्टामा लागेको छ। घटनामा लागुऔषध कारोवारीले प्रहार गरेको इँटाले एक प्रहरी घाइते भएका छन्। घाइते प्रहरीलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरीले जनाएको छ।
साउन ३०, २०८२ शुक्रबार १७:०४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।