टप एण्ड टी-२० सिरिजमा एनटी स्ट्राइकले नेपाललाई दियो १ सय ७८ रनको लक्ष्य

काठमाडौं : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको पहिलो खेलमा नेपाललाई नर्दन टेरिटोरी (एनटी) स्ट्राइकले जितका लागि १ सय ७८ रनको चुनौती दिएको हो।
नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो। एनटीले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनायो। टोलीका कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतक प्रहार गरे भने टम एन्ड्र्युजले अविजित ३२ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चिँदै ३ विकेट लिए। शाहब आलमले ३२ रनमा २ विकेट झारे भने गुलशन झा, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक/एक विकेट हात पारे।
सिरिजमा नेपालसहित पाकिस्तान र बंगलादेशका ‘ए’ टोली तथा अस्ट्रेलियाको बिग ब्यास लिगका दुई क्लबका एकेडेमी टोलीहरू सहभागी छन्।
यो सिरिज यही वर्षको अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिताको तयारीको हिस्सा हो।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, यो सिरिज सकिएपछि पनि नेपाली टोलीले अस्ट्रेलियामै थप एक साता अभ्यास गर्नेछ।
यस क्रममा नेपालले अगस्ट २६ मा क्रिकेट एसिटीसँग दुई तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई गरी चारवटा टी-२० अभ्यास खेल खेल्नेछ। त्यस्तै, अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल पनि खेल्ने कार्यक्रम छ।
अस्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्ने पनि तय भएको छ।
ओमानमा हुने एसिया छनोटमा नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन्।
साउन ३०, २०८२ शुक्रबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।