लालकिल्लाबाट मोदीले भने- ‘अरूमाथि निर्भर भए स्वतन्त्रताको अर्थ रहँदैन, ऊर्जा स्वतन्त्रता हासिल गर्नैपर्छ’

लालकिल्लाबाट मोदीले भने- ‘अरूमाथि निर्भर भए स्वतन्त्रताको अर्थ रहँदैन, ऊर्जा स्वतन्त्रता हासिल गर्नैपर्छ’

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई ऊर्जा स्वतन्त्र बनाउँदै शक्तिशाली स्वदेशी रक्षा प्रणाली विकास गर्ने प्रतिज्ञा गर्दै राष्ट्रिय हितलाई ‘पर्खालझैँ’ जोगाउने घोषणा गरेका छन्।

वार्षिक स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले आत्मनिर्भरतालाई विकसित भारतको आधारस्तम्भका रूपमा प्रस्तुत गरे। ‘अरूमाथि अत्यधिक निर्भर भए स्वतन्त्रताको अर्थ रहँदैन,’ उनले भने।

भारत अहिले अमेरिकाबाट बढ्दो आयात करको दबाबमा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रुसी तेल खरिद रोक्न अल्टिमेटम दिँदै अगस्ट २७ देखि लागू हुने २५ प्रतिशत भन्सार शुल्क ५० प्रतिशत पुर्याउने चेतावनी दिएका छन्।

भारतले युक्रेन युद्ध अन्त्य प्रयासमा समर्थन जनाएको छ र आज अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर सम्मेलनलाई अनुमोदन गरेको छ।

‘हामी हाम्रो ऊर्जा आवश्यकताका लागि धेरै मुलुकमा निर्भर छौँ। तर साँचो अर्थमा आत्मनिर्भर बन्न ऊर्जा स्वतन्त्रता अनिवार्य छ,’ मोदीले भने। उनले वैज्ञानिक र इन्जिनियरहरूलाई लडाकू विमानका इन्जिन, सेमिकन्डक्टर चिप्स र सैन्य उपकरणजस्ता क्षेत्रमा स्वदेशी उत्पादनमा जोड दिन आह्वान गरे।

उनका अनुसार यसै वर्षको अन्त्यसम्म भारतमै निर्मित सेमिकन्डक्टर चिप्स बजारमा आउनेछन्। साथै, भारतले आफ्नै अन्तरिक्ष स्टेसन निर्माणको योजना अघि बढाइरहेको र अर्को दशकमा ‘डिफेन्स सिल्ड’ स्थापना गर्ने तयारी भइरहेको छ।

मोदीले हालै पाकिस्तानसँग भएको चार दिने द्वन्द्वमा सहभागिता जनाएका भारतीय सेनाप्रति सम्मान प्रकट गरे। अमेरिकी नीतिबारे प्रत्यक्ष टिप्पणी नगरी उनले किसानका हितविरुद्ध हुने कुनै पनि कदमका विरुद्ध ‘पर्खालझैँ’ उभिने प्रतिबद्धता जनाए।

कृषि भारतको अर्थतन्त्र र रोजगारीको मेरुदण्ड भएकाले यो विषय व्यापार वार्तामा संवेदनशील रहेको उल्लेख गर्दै मोदीले भने, ‘आर्थिक स्वार्थ बढ्दै गइरहेका बेला हामीले सङ्कटको मात्र चिन्ता नगरी आफ्नै शक्तिमा केन्द्रित हुनुपर्छ।’ 

साउन ३०, २०८२ शुक्रबार १५:५७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।