‘नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छ’

भक्तपुर : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन प्रत्येक स्थानीय तहले आफ्नो माटो र वातावरण अनुसारको कृषि प्रणाली रोज्नुपर्नेमा जोड दिएका छन्।
भक्तपुरमा शुक्रबार सम्पन्न ‘चाँगुनारायण सिटी एभोकाडो अभियान’ समापन तथा अभियन्ता सम्मान कार्यक्रममा बोल्दै दाहालले चाँगुनारायणमा सफलतापूर्वक सञ्चालन भएको अभियान देशभरका ७५३ स्थानीय तहका लागि उदाहरणीय मोडल भएको बताए।
“अभियानबाट प्राप्त सफलताबाट सबै स्थानीय तहले सिक्नुपर्छ। आफ्नो क्षेत्रको माटो र हावापानीअनुसार फलफूल र अन्य कृषि उपज उत्पादन गर्न सके देशलाई कृषिमा आत्मनिर्भर बनाउन गाह्रो हुँदैन,” दाहालले भने।
अध्यक्ष दाहालका अनुसार राष्ट्रिय अर्थतन्त्रको विकासको माध्यमबाट मात्र मुलुक समृद्ध बन्न सक्छ। उनले मौलिक नमूनासहितको आत्मनिर्भर अर्थतन्त्र अपरिहार्य भएको भन्दै पछिल्ला वर्षमा धेरै युवाले ‘देशमै केही गरौँ, देशमै आत्मनिर्भर बनौँ’ भन्ने सोचका साथ समूहगत रुपमा काम गर्न थालेको उल्लेख गरे।
“विदेशीको नक्कल गर्ने प्रवृत्ति दुर्भाग्यपूर्ण हो। आफ्नै देशमा रोजगारी सिर्जना गर्न सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ। सबै जुटे नेपाललाई आत्मनिर्भर बनाउन धेरै समय लाग्दैन,” उनले थपे।
देशभित्रै मौलिक अर्थतन्त्रको मोडल विकास गर्ने सट्टा विदेश जाने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै दाहालले नेपालको संस्कृति, भाषा र पहिचानप्रति गर्व गर्ने मानसिकता विकास गर्नु आजको चुनौती भएको बताए।
उनका अनुसार नेपालमा प्राकृतिक स्रोतसाधन, कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा अपार सम्भावना छ। “सकारात्मक सोचका साथ रचनात्मक काम गर्न सके विकास टाढा छैन,” दाहालले भने। “देशमै रोजगारी सिर्जना गरी उत्पादकत्व बढाउनुपर्छ र विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्नुपर्छ।”
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख सोम मिश्र, माओवादी केन्द्रका नेता तथा सिटी एभोकाडो अभियानका अभियन्ता डिपी ढकाल, संयोजक नरेश खड्का लगायतले पनि अभियानले ल्याएको सकारात्मक प्रभावबारे धारणा राखेका थिए।
साउन ३०, २०८२ शुक्रबार १५:३२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।