तीन इन्काउन्टरले सुस्ताएको गुन्डाराज पुन: टाउको उठाउँदै : पुराना कोही जेल-कोही अदालत धाउँदै, नयाँ आतंक फैलाउँदै

काठमाडौं : कुनै समय काठमाडौं उपत्यकामा आपराधिक गतिविधिमा संलग्न भएर रजगज गरेकाहरू प्रहरीको आक्रामक कारबाहीपछि तितरबितर भएका थिए। तर उनीहरूलाई पुरानो आपराधिक घटनाले पछ्याउन छाडेको छैन।
प्रहरीको इन्काउन्टर अभियानसँगै कोही पलायन भए, कोही राजनीतिमा लागे त कोही व्यवसायीको आवरणमा सुरक्षित हुने प्रयासमा लागे। यसमा बलराम सापकोटा अनि गणेश लामा लगायत केही सफल पनि भए। तर केही भने अहिले पनि हिजोको अपराधले अदालत धाइरहेका छन्। दीपक मनाङे त कारागारै पुगे।
गुन्डा नाइकेबाट प्रदेश सांसद र मन्त्रीसमेत भएका मनाङे चक्रे मिलनको हत्या प्रयासको पुरानो अभियोग पुष्टिसँगै डिल्लीबजार कारागारमा छन्। २०६१ को अपराधमा उनी पक्राउ परेर करिब २ वर्ष कैद सजाय भोग्न कारागार चलान भएका हुन्।
गुण्डागर्दीमा सक्रिय रहेको बेलामा चक्रेमाथि आक्रमण गरेर हात छिनाएको घटनामा पाएको सजाय अनुसार कैद बाँकी भएको खुलेसँग उनी कारागार पुगे। अर्का गुन्डा नाइके चक्रे मिलन अभद्र व्यवहारको अभियोगमा धरौटीमा छुटेर हत्या प्रयास अभियोगमा प्रहरी हिरासतमा छन्। राजु गोर्खाली कांग्रेसको राजनीतिमा लागे पनि निष्क्रिय देखिन्छन्। २०५९ मा राजन लिम्बुको हत्या गरेको अभियोग लागेसँगै लामो समय फरार भएर पक्राउ परेका उनी सजाय काटेर रिहा भएपछि अस्पताल लगायतको व्यवसायमा संलग्न छन्।
रमेश बाहुनको नामले परिचित रमेश पौडेल अवैध हतियार र लागू औषधमा पाँच वर्ष बढी केन्द्रीय कारागारमा बसेर रिहा भएसँगै पलायन भएर दुबई पुगेका छन्। उनी उतै सक्रिय छन्। गणेश लामा, राधे भण्डारी नेपाली कांग्रेसको संरक्षणमा छन्। लामा केन्द्रीय सदस्य छन्। राधे धादिङको कांग्रेस राजनीतिमा संलग्न छन्।
लागू औषधमा अदालत धाउँदै दावा
आपराधिक पृष्ठभूमि हुँदै राजनीतिमा सक्रिय अर्का गुन्डा दावा लामा लागू औषध मुद्दामा उच्च अदालतबाट दोषी ठहर भएपछि अहिले सर्वोच्च अदालतमा पुनरावेदन गरेर धाइरहेका छन्।
२०७१ भदौ २ गते काठमाडौंको जोरपाटी बेसीगाउँ ढल्केधारा टोलमा प्रवीण खड्का, वीरेन्द्र कुँवर र दावा लामा भन्ने जितेन्द्र तामाङ भेटिएकोमा लामाको साथबाट सेतो रडको प्लास्टिकमा प्याक गरेको अवस्थामा खैरो हिरोइन १४.८० ग्राम फेला परेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।
यो मुद्दामा जिल्ला अदालत काठमाडौँले उनलाई सफाइ दियो। जिल्ला अदालतले २०७२ मंसिर २७ मा तीनै जनालाई सफाइ दिएको थियो। तर सरकारीपक्षको पुनरावेदनमा उच्च अदालतले काठमाडौं जिल्ला अदालतले दावालाई सफाइ दिने फैसला उल्टाउँदै लागू औषध नियन्त्रण ऐन अनुसार ५ वर्ष कैद ५पाँच हजार रुपैयाँ जरिवाना हुने ठहर्यायो। उनी सर्वोच्चमा पुनरावेदन गए।
क्यासिनोको मिटरब्याजबाट उदय
काठमाडौंमा खुलेका क्यासिनोमा नेपाली प्रवेश खुकुलो बनेको बेलामा धेरै आपराधिक पृष्ठभूमि भएकाहरूको आर्थिक हैसियत उकालियो।
दिनेश अधिकारी चरी, बलराम सापकोटासँगै दावा लामाको उदय पनि त्यही क्यासिनोमा जोडिएको छ। दावा काठमाडौंमा टोले गुण्डाहुँदै क्यासिना अवैध रूपमा छिरेर जुवा खेल्दा टाट पल्टेकालाई मिटर ब्याजमा पैसा लगाएर आर्थिक रूपमा बलियो बनेका थिए।
काभ्रेपलान्चोकको साबिक भुम्लुटार गाविसका दावा खुकुरी काजीको उपनामले परिचित थिए। उनको काठमाडौंमा काजी शेर्पा र प्रहरी कुमार घैँटे भनिने कुमार श्रेष्ठमार्फत प्रभाव बढेको थियो। घैँटेसँग लामो सहकार्य हुन सकेन।
उमेश लामाहुँदै गणेश लामाको काभ्रेली समूहमा संलग्न भए। त्यता पनि लामो समय सहकार्य नभएपछि अभिमानसिंह बस्नेत, प्रवीण कुँवरलगायतसँग मिलेर आफ्नै समूह चलाएको प्रहरीमा रहेको उनको आपराधिक प्रोफाइलमा उल्लेख छ।
रेस्टुरेन्ट व्यवसायमा समेत संलग्न उनी क्यासिनोको धन्दामा छिरेर टेबल बुक गरेर जुवा खेलाउने र जुवा खेल्दाखेल्दै पैसा अभाव भएकाको सम्पत्ति जमानी लिएर मिटरब्याजमा पैसा दिने र असुल्ने गर्न थाले। दोस्रो संविधानसभा चुनाव अगाडि काभ्रेका कांग्रेस नेता तीर्थ लामाले कांग्रेसमा प्रवेश गराए। यो बिचमा नि पक्राउकोक्रम रोकिएन।
बौद्ध नयाँवस्तिमा बस्ने दावा गौरीघाट नजिकको दिव्य पार्टी प्यालेसभित्रै रहेको क्लबमा जिम गर्न जानेक्रममा उनीमाथि गोली चलेको थियो। आक्रमणमा धन्न जोगिएपछि उनी कांग्रेस राजनीतिमा सक्रिय भए। २०७९ को स्थानीय तहको निर्वाचनमा काभ्रे भुम्लु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए।
तीन इन्काउन्टरले सुस्ताएको गुन्डाराज टाउको उठाउँदै
संगठित गुण्डागर्दी अति नै भएपछि प्रहरीले कठोर नीति लिँदै २०७१ मा इन्काउन्टरको रणनीति बनायो। पाँच जना हिटलिस्टमा भएकोमा तीन जना मारिए। यसको प्रभावले केही समय गुण्डाहरु तितरबितर भएका थिए। तर अहिले उनका चेलाहरु पुन सक्रिय देखिए।
पहिलो टार्गेटमा थिए एमालेको संरक्षणमा रहेका रमेश बाहुन। नेपाली सेनामा केही वर्ष काम गरेर छाडेका उनी मुख्य ठेक्कापट्टामा धम्क्याएर पैसा असुल्न सक्रिय थिए। भक्तपुरका मीनकृष्ण महर्जनलाई गोली हानेर मार्ने प्रयास असफल भएपछि भागेर भारत पुगेका उनलाई प्रहरीले उतैबाट ल्याएर इन्काउन्टरको योजना बनाएको थियो।
काठमाडौं परिसरको प्रमुख थिए रमेश खरेल। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल। गृहमन्त्री बामदेव गौतम। काठमाडौंमा एमालेको महाधिवेशन चलिरहेको थियो। महाधिवेशनको बेलामा पार्टी कार्यकर्ता मारिँदा समस्या हुने भएपछि गौतमले केही समय होल्ड गराउन लगाउँदा उनी पक्राउ परेको सूचना बाहिरियो। इन्काउन्टर असफल भएपछि उनलाई कलंकीको खसीबजारमा हिँडिरहेको बेलामा पक्राउ परेको भन्दै अवैध हतियार र लागू औषधको अभियोग लगाइयो। उनी जेल परे।
उनी कैद सजाय सकिएपछि रिहा भए तर नेपालमा बसेनन्। दुबई पुगेका उनी अहिले म्यानपावर व्यवसायमा संलग्न देखिन्छन्। उनको प्रतिद्वन्द्वी मिनकृष्ण महर्जन भने काङ्ग्रेसबाट प्रदेश सांसदहुँदै बहादुर सिंह लामाको मन्त्रीपरिषद्मा मन्त्री समेत भएका थिए।
उपत्यका अपराध महाशाखाका प्रमुख थिए पुष्कर कार्की। उनले इन्काउन्टर नीति जारी राखे। नेपालमा आपराधिक मुद्दा पनि भएको र फरार रहेको खोज्नेक्रममा भारतमा लुकेर बसेका एमालेमा आबद्ध अर्का दिनेश अधिकारी चरी टार्गेट छानिए।
मुद्दा मिलाउन काठमाडौं आएका उनी आफ्नै समूहका सदस्यले सूचना चुहाउँदा २०७१ साउन २१ मा काठमाडौँ-धादिङको सीमा भिमढुंगामा मारिए। चरीको गैर कानुनी हत्या भएको भन्दै केपी ओलीदेखि तत्कालीन समयमा चरीको प्रेमिका दाबी गर्ने खुश्बु ओलीले विरोध गरे। खुश्बुले मुद्दा अगाडि बढाउन खोजे पनि सफल भइनन्।
महाशाखाको नेतृत्व बदलिएर सर्वेन्द्र खनाल आए। उनले पनि इन्काउन्टर नीति जारी राखे। पहिल्यै खनालसँग झडप भएका कुमार श्रेष्ठ घैँटे टार्गेटमा परे। कांग्रेसको संरक्षणमा रहेका घैँटेले प्रहरीको रणनीति थाहा पाएर राष्ट्रिय मानव अधिकार आयोगमा जीवन रक्षाको निवेदन समेत दिएका थिए। तर उनी छोरीलाई स्कुलको गाडीमा छाडेर घर फर्कनेक्रममा घर अगाडिको चौरमा २०७२ भदौ तीनमा मारिए।
आतङ्क बनेका मनोज पुन एमाले कार्यकर्ताको हत्या अभियोग लागेपछि भागेर भारत पुगेका थिए। प्रहरीले उनलाई नेपाल ल्यायो। २०७४ फागुन ९ मा रुपन्देहीको देवदहमा प्रहरी भिडन्तमा उनी मारिए। यो इन्काउन्टर शृङ्खलासँगै संगठित गुण्डागर्दी सुस्तायो। अनि बलियो राजनीतिक संरक्षण भएकाहरू पेसा बदलेर कोही व्यवसायी बने भने कोही नेता।
सक्रिय हुँदै संगठित गुण्डागर्दी
पछिल्लो समय पुन संगठित गुण्डागर्दी सुरु भएको सूचनापछि काठमाडौं उपत्यका अपराध महाशाखाले निगरानी बढाएको देखियो। चक्रे मिलन आफू निष्क्रिय देखिए पनि समूहका सदस्य व्यापारी धम्काउन सक्रिय रहेको सूचनाको आधारमा निगरानी बढाउँदा जन्मदिनमा केटाहरू जम्मा गरेर बस्दा होहल्ला गरेको आरोपमा समातिए।
६ महिना अगाडि भक्तपुरमा हत्या प्रयासको घटनामा जाहेरी परे पनि प्रहरीले नचिनेको भनेर चक्रेलाई पक्राउ नगरेको उकेराले सार्वजनिक गरेपछि लाजले भक्तपुर प्रहरीले अनुसन्धान गर्यो। जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र लग्यो।
पछिल्लो समय सानुभाई भनिने युवराज गुरुङ निरन्तर आपराधिक गतिविधिमा सक्रिय देखिए। उनी कुमार घैँटे समूहका सदस्य थिए। घैँटेको इन्काउन्टरपछि उनी हत्याको बदला लिने भन्दै केही समय भूमिगत पनि भए। प्रहरीको इन्काउन्टरको भयले उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे। पटक-पटक पक्राउ समेत परिरहेका छन्। रात्रिकालीन व्यवसायमा हप्ता असुल्न उनको समूह सक्रिय देखिन्छ।
विष्णु लामा, सूर्य लामाहरू पनि सक्रिय नै देखिन्छन्। उनीहरूको नाम अझैँ प्रहरीको सूचीमा सक्रिय नै देखिन्छ। सूर्य गुरुङ, विशाल गुरुङ, राम श्रेष्ठ, गोपाल थापा लगायतकाहरु अझैँ उपत्यकाको गुण्डागर्दीमा सक्रिय देखिन्छन्।
साउन ३०, २०८२ शुक्रबार १६:०१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।