हिमालयन क्वीन्स ग्याम्बिट चेस आइतबार, १०० महिला खेलाडी सहभागी हुने

काठमाडौं : अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सामाजिक वर्ष २०२५’ को अवसरमा हिमालयन चेस एकेडेमीले आइतबार ‘हिमालयन क्वीन्स ग्याम्बिट’ बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ।
कोशी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजको सहकार्यमा हुने यस प्रतियोगितामा १०० जना महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले चेसमा महिला सहभागिता बढाउँदै बौद्धिक खेलमार्फत महिला सशक्तीकरण गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताइन्।
सेन्ट जेभियर कलेज, थापाथलीमा हुने एकदिने प्रतियोगिता र्यापिड ढाँचामा स्वीस लिग प्रणाली अनुसार सात राउन्डको हुनेछ।
खेलमा प्रत्येक खेलाडीले १० मिनेटको समय पाउनेछन्। प्रतियोगितामा ओपन, स्कुल, गर्ल्स यू-१०, यू-१३, यू-१६ र भेट्रान (५० वर्षमाथि) गरी विभिन्न स्पर्धा समावेश छन्। विजेताहरूले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
२०८० चैतमा स्थापित एकेडेमीले आयोजना गर्न लागेको यो दोस्रो महिला चेस प्रतियोगिता हो। यसअघि एकेडेमीले एसईई कप र तीज विशेषलगायत आठवटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
एकेडेमीले विभिन्न तहका १०० भन्दा बढी विद्यार्थीलाई भौतिक तथा अनलाइन माध्यमबाट प्रशिक्षण दिँदै आएको छ।
साउन ३०, २०८२ शुक्रबार १३:०६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।