मनोहरा सुकुम्बासी बस्तीमा डोजर चल्दा झडप, प्रहरीमाथि ढुंगामुढा

काठमाडौं : काठमाडौंको मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा अवैध रूपमा बनाइएका नयाँ संरचना हटाउने क्रममा झडप भएको छ।
काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि स्थानीयले नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार गर्दा स्थिति तनावग्रस्त बनेको हो।
महानगरका अनुसार, व्यक्तिको निजी जग्गामा नयाँ घर टहरा निर्माण गरिएपछि त्यसलाई हटाउन डोजर चलाइएको हो।
महानगरले गत साउन ८ गते गोरखापत्रमा सूचना प्रकाशित गरी अवैध संरचना हटाउन ७ दिनको समय दिएको थियो। उक्त समय सीमाभित्र पनि संरचना नहटाएपछि महानगरले बल प्रयोग गरेको हो।
आज बिहान नगर प्रहरीको टोली डोजरसहित बस्तीमा पुग्नासाथ स्थानीयहरू आक्रोशित भएका थिए। उनीहरूले डोजरको प्रतिकार गर्दै सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए।
सम्भावित झडपलाई मध्यनजर गर्दै नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको थियो। प्रहरी र स्थानीयबीचको तनावपछि अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ।
साउन ३०, २०८२ शुक्रबार १२:५७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।