नौ दिनदेखि अनसनरत आरक्ष पीडितहरूको समस्या वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगको निर्देशन

नौ दिनदेखि अनसनरत आरक्ष पीडितहरूको समस्या वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरमा आमरण अनशनरत आरक्ष पीडितहरूको जीवन रक्षाका लागि तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मदनचोकमा विगत नौ दिनदेखि आमरण अनशनमा बसेका आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकाया र सदस्य रणबहादुर बमको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

आयोगले आज एक विज्ञप्ति निकालेर ज्येष्ठ नागरिकसमेत रहेका अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था जोखिममा परेकोले उनीहरूका माग सम्बोधन गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ।

‘आमरण अनशनमा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्था समेतलाई ध्यानमा राखी निजहरुको मागका सम्बन्धमा यथाशीघ्र छलफल गर्दै विवादका विषयहरूमा वार्ता र सहमतिकै माध्यमबाट निष्कर्षमा पुगि अनशनरत व्यक्तिहरूको जीवन रक्षा गर्न आयोग तीनै तहका सरकारलाई निर्देशन गर्दछ’, आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आरक्ष पीडितहरूले क्षतिपूर्तिको व्यवस्था, ढक्का र तारापुरका बासिन्दाको बसोबासको ग्यारेन्टी, आरक्ष पीडितलाई द्वन्द्वपीडित घोषणा, तथा निःशुल्क स्वास्थ्य र शिक्षाजस्ता माग राख्दै श्रावण २२ गतेदेखि आमरण अनशन सुरू गरेका थिए।

यस विषयमा आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले महेन्द्रनगर, वाणी र लालझाडीको ढक्का शिविरमा भइरहेको रिले अनशनको समेत अनुगमन गरेको थियो। अनुगमनका क्रममा अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको पाइएको आयोगले जनाएको छ।

आयोगले पीडितहरूका माग नेपालको संविधानले प्रत्याभूत गरेका सम्मानपूर्वक बाँच्न पाउने हक, सम्पत्तिको हक, आवासको हक, स्वास्थ्य र शिक्षाजस्ता मौलिक हकहरूसँग सम्बन्धित रहेको स्मरण गराएको छ।

साथै, मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएको र नेपाल पक्ष राष्ट्र रहेको अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रले समेत कुनै पनि व्यक्तिलाई आफ्नो जीवन धान्ने उपायबाट वञ्चित गर्न नपाइने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले अनशनरत पक्षलाई पनि आमरण अनशन स्थगित गरी आफ्ना माग र अधिकारका लागि वार्ता, छलफल र कानूनी बाटो अवलम्बन गर्न आग्रह गरेको छ।

साउन ३०, २०८२ शुक्रबार १२:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।