अभिनेत्री शिल्पा शेट्टी र पति राज कुन्द्रामाथि ६० करोड ठगीको आरोप, प्रहरीले थाल्यो अनुसन्धान

एजेन्सी : मुम्बईका एक व्यापारीले अभिनेत्री शिल्पा शेट्टी र उनका पति व्यवसायी राज कुन्द्रामाथि ६० करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। यो घटना उनीहरूको हाल बन्द भइसकेको कम्पनी ‘बेस्ट डिल टिभी प्राइभेट लिमिटेड’सँग सम्बन्धित छ।
उजुरीकर्ता व्यापारी दीपक कोठारीका अनुसार, सन् २०१५ देखि २०२३ को बीचमा उनले आफ्नो व्यापार बढाउनका लागि शिल्पा र राजको दम्पतीलाई कुल ६०.४८ करोड भारु दिएका थिए, तर उक्त रकम उनीहरूले आफ्नो निजी खर्चमा प्रयोग गरे।
कोठारीका अनुसार, सन् २०१५ मा एजेन्ट राजेश आर्यामार्फत उनको भेट शिल्पा र कुन्द्रासँग भएको थियो। त्यस समयमा दुवै ‘बेस्ट डिल टिभी’का निर्देशक थिए र कम्पनीको ८७ प्रतिशतभन्दा बढी शेयर शिल्पाको नाममा थियो।
एक बैठकमा दीपकले शिल्पा र राज कुन्द्राको कम्पनीलाई ऋण दिने सहमति भएको थियो। कम्पनीका लागि ७५ करोड भारु ऋण मागिएको थियो, जसमा वार्षिक १२ प्रतिशत ब्याज तोकिएको थियो।
तर, पछि शिल्पा र कुन्द्राले ऋणमा करसम्बन्धी समस्या आउन सक्ने भन्दै यसलाई लगानीको रूपमा देखाउने र हरेक महिना प्रतिफल दिने प्रस्ताव राखेको कोठारीको आरोप छ।
अप्रिल २०१५ मा कोठारीले पहिलो पटक ३१.९५ करोड भारु भुक्तानी गरे। पछि, जुलाई २०१५ देखि मार्च २०१६ को बीचमा उनले थप २८.५४ करोड भारु हस्तान्तरण गरे। यसरी उनले कुल ६०.४८ करोड भारु दिए, साथै ३.१९ लाख भारु स्ट्याम्प ड्युटी पनि तिरे।
कोठारीका अनुसार अप्रिल २०१६ मा शिल्पाले उनलाई व्यक्तिगत ग्यारेन्टी पनि दिएकी थिइन्, तर सोही वर्षको सेप्टेम्बरमा उनले कम्पनीको निर्देशक पदबाट राजीनामा दिइन्। यसपछि उनले आफ्नो पैसा फिर्ता माग्दा कुनै जवाफ र रकम नपाएको बताएका छन्।
सुरूमा यो मुद्दा जुहू प्रहरी चौकीमा धोकाधडी र जालसाजीको आरोपमा दर्ता गरिएको थियो। रकम १० करोडभन्दा बढी भएकाले अनुसन्धान आर्थिक अपराध शाखालाई हस्तान्तरण गरिएको छ।
राज कुन्द्रा-शिल्पा शेट्टीका वकिलको बयान
अर्कोतर्फ, राज र शिल्पाका वकिलले दीपक कोठारीका आरोपहरूलाई खण्डन गरेका छन्।
राज कुन्द्रा र शिल्पा शेट्टीका वकिल प्रशान्त पाटिलले भने, ‘मेरा ग्राहकहरूमाथि लगाइएका सबै आरोपहरूलाई हामी खारेज गर्दछौँ। यो पूर्ण रूपमा एक सिभिल मुद्दा हो, जसलाई राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण मुम्बईले ४ अक्टोबर २०२४ मा नै टुङ्ग्याइसकेको छ।’
उनले थपे, ‘यो एक पुरानो कारोबार हो, जसमा कम्पनी आर्थिक संकटमा फसेको थियो र पछि लामो कानुनी प्रक्रियामा अल्झियो। यसमा कुनै अपराध छैन। हाम्रो लेखा परीक्षकले समय-समयमा आर्थिक अपराध शाखालाई सबै आवश्यक कागजातहरू उपलब्ध गराइसकेका छन्।’
पाटिलले लगानी सम्झौता पूर्ण रूपमा इक्विटी लगानीको रूपमा रहेको र कम्पनीलाई पहिले नै लिक्वीडेसनका लागि आदेश दिइसकिएको छ।
उनले भने, ‘यो मुद्दा हाम्रा ग्राहकहरूको छवि बिगार्ने उद्देश्यले प्रेरित र निराधार छ। हामी यस मामलामा दोषीहरूविरुद्ध उचित कानुनी कारबाही गर्नेछौं।’
साउन ३०, २०८२ शुक्रबार ०८:२३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।