अमेरिका र इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा २१ हजार मानिस जेलमा, सात जनालाई मृत्युदण्ड

तेहरान : इजरायल र अमेरिकासँग गत जुन महिनामा भएको १२ दिने युद्धपछि इरानले देशव्यापी रूपमा जासुसीविरुद्ध आक्रामक अभियान सुरू गरेको छ। पछिल्लो दुई महिनामा प्रहरीले देशभरि छापा मारेर २१ हजारभन्दा बढी मानिसलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमाथि अमेरिका र इजरायलका लागि जासुसी गरेको आरोप लगाइएको छ। गिरफ्तार हुनेहरूमा सर्वसाधारण नागरिक, वैज्ञानिक, आणविक विशेषज्ञदेखि डाक्टर र इन्जिनियरसम्म रहेका छन्।
इरानका कानुन प्रवर्तन प्रवक्ता सईद मोन्तजेरोलमहदीका अनुसार, इजरायली र अमेरिकी हमलापछि सुरक्षा बलले देशभरि खोजी अभियान चलाएको हो। जनतालाई संदिग्धहरूको बारेमा सूचना दिन गरिएको अपिलपछि गिरफ्तारी बढेको हो। सर्वसाधारणबाट प्राप्त हुने सूचनामा ४१ प्रतिशतले वृद्धि भएको उनले बताए।
परमाणु वैज्ञानिकसहित ७ जनालाई मृत्युदण्ड
इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा एक परमाणु वैज्ञानिकसहित सात जनालाई मृत्युदण्ड दिएको छ। मृत्युदण्ड पाउनेमा परमाणु वैज्ञानिक रुजबेह वादी पनि छन्, जसलाई इजरायलको खुफिया एजेन्सी मोसादलाई संवेदनशील जानकारी दिएको आरोपमा ६ अगस्ट २०२५ मा मृत्युदण्ड दिइएको थियो।
यसबाहेक, ३ कुर्द नागरिकहरू- एड्रिस अली, आजाद शोजाई र रसूल अहमद रसूललाई पनि इजरायलका लागि जासुसी गरेको आरोपमा २५ जुन २०२५ मा मृत्युदण्ड दिइएको थियो। उनीहरूमाथि सन् २०२० मा इरानका परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्यामा सघाएको आरोप लगाइएको छ।
इजरायलले गरेको ‘अपरेसन राइजिङ लायन’ नामक हमलामा इरानका २० शीर्ष सैन्य अधिकारी, १४ परमाणु वैज्ञानिक र ९७४ सर्वसाधारण मारिएका थिए। उक्त हमलामा एक हजार ४८४ जना घाइते भएका थिए भने इरानका परमाणु केन्द्रहरूमा पनि क्षति पुगेको थियो।
१३ लाख अफगान शरणार्थीहरू देश निकाला
इजरायली हमलापछि इरानमा रहेका अफगानी शरणार्थीहरूप्रति आक्रोश बढेको छ। उनीहरूलाई जासुसको आरोप लगाउँदै ठूलो संख्यामा देश निकाला गरिँदा पहिलेदेखि नै अस्थिरताबाट गुज्रिरहेको अफगानिस्तानमा मानवीय संकट गहिरिएको छ।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार, पछिल्लो दुई महिनामा इरानबाट १३ लाखभन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएका छन् र यो संख्या वर्षको अन्त्यसम्ममा ३० लाख पुग्न सक्ने अनुमान छ।
इस्लाम कला सीमा नाकाबाट दैनिक ३० हजार देखि ५० हजार अफगानीहरू फर्किरहेका छन्। धेरै परिवारहरू रातारात आफ्नो घर छोड्न बाध्य भएका छन् भने कतिपयले लगाएको कपडामा मात्र देश छाड्नुपरेको छ।
अफगानिस्तानमा पहिले नै २ करोड ३७ लाख मानिस (आधाभन्दा बढी जनसंख्या) मानवीय सहायतामा निर्भर छन्। देशमा बेरोजगारी चरम सीमामा छ, बैंकिङ प्रतिबन्धले व्यापार र आयात-निर्यात प्रभावित भएको छ, र विदेशबाट आउने रेमिट्यान्समा पनि कमी आएको छ।
यसैबीच, अमेरिकी सिनेटर मार्को रुबियोले अफगानिस्तानका लागि करिब ८ हजार ५८० करोड भारतीय रुपैयाँ बराबरको २२ सहायता योजनाहरू समाप्त गरिदिएका छन्, जसले संकटलाई झनै बढाएको छ। तालिबान शासनमा फर्किने महिलाहरूमाथि शिक्षा, रोजगारी र स्वतन्त्र आवतजावतमा कडा प्रतिबन्धहरू छन्।
साउन ३०, २०८२ शुक्रबार ०८:०२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।