चोयामा कुँदिएको खुशी, डोकोले धानेको शेरबहादुरको संसार

गलेश्वर : पसिनाले भिजेको अनुहारमा मुस्कान छर्दै ४९ वर्षीय शेरबहादुर परियार भन्छन्, ‘अझै जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेँ।’
उनका हात बाँसका चोया काढ्न र डोको बुन्नमा यति व्यस्त छन् कि उनलाई उमेर घर्किएको पत्तै छैन। उनको यो जाँगर र स्फूर्ति देख्दा उमेरले उनलाई छुन नसकेको जस्तो लाग्छ।
म्याग्दीको बेनी नगरपालिका-९, तोरीपानीका शेरबहादुरले १९ वर्षको उमेरदेखि नै बाँस र निगालोको चोयामा आफ्नो सीप भर्न थालेका हुन्। यही सीप आज उनको पाँच सदस्यीय परिवारको गुजाराको आधार बनेको छ।
उनी बाँस र निगालोबाट डोका, डाला, थुन्से र ढाकर जस्ता घरायसी सामग्री बनाउने सिपालु कालीगढ हुन्। यी सामग्री बेचेर उनले मासिक १२ हजार रुपैयाँसम्म कमाउँछन् र यही कमाइले परिवारको पेट पाल्छन्।
एक समय थियो, जब काम नगरे साँझ-बिहान हातमुख जोर्न पनि हम्मेहम्मे पर्थ्यो। तर, अहिले अवस्था फेरिएकोमा उनी दङ्ग छन्। उनको सीप र मेहनतको कदर गर्नेहरू उनलाई खोज्दै घरसम्मै आइपुग्छन्।
उनी गर्वका साथ सुनाउँछन्, ‘पहिले बजारमा बेच्न जानुपर्थ्यो, अहिले त ग्राहक घरमै आउँछन्।’
यही डोको बुनेर आएको कमाइले उनले छोराछोरीलाई पढाए, बिहे पनि गरिदिए। शेरबहादुर दिनमा पाँच वटासम्म डोका तयार पार्छन्। एउटा डोको २ सय ५० देखि ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ।
तीन दशकदेखि शेरबहादुरका हातले बाँसका चोयालाई सुन्दर आकार मात्र दिएका छैनन्, आफ्नो परिवारको भविष्य पनि बुनेका छन्। उनका लागि यो काम केवल आयआर्जनको माध्यम होइन, आत्मनिर्भरता र स्वाभिमानको प्रतीक पनि हो।
साउन ३०, २०८२ शुक्रबार ०७:३८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।