टप एन्ड टी-२० सिरिजमा नेपालले आज घरेलु टोली नर्दन टेरिटोरीसँग प्रतिस्पर्धा गर्दै

टप एन्ड टी-२० सिरिजमा नेपालले आज घरेलु टोली नर्दन टेरिटोरीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी-२० सिरिज खेल्दैछ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरीको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले यो सिरिजलाई विश्वकप छनोटको महत्त्वपूर्ण तयारीका रूपमा लिएको छ।

सिरिजमा नेपालसहित पाकिस्तान र बंगलादेशका 'ए' टोली तथा अस्ट्रेलियाको बिग ब्यास लिगका दुई क्लबका एकेडेमी टोलीहरू सहभागी छन्।

पहिलो खेलपछि नेपालले शनिबार बंगलादेश ‘ए’, सोमबार मेलबर्न स्टार्स एकेडेमी, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमी र आगामी शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका छ।

यो सिरिज यही वर्षको अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिताको तयारीको हिस्सा हो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, यो सिरिज सकिएपछि पनि नेपाली टोलीले अस्ट्रेलियामै थप एक साता अभ्यास गर्नेछ।

यस क्रममा नेपालले अगस्ट २६ मा क्रिकेट एसिटीसँग दुई तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई गरी चारवटा टी-२० अभ्यास खेल खेल्नेछ। त्यस्तै, अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल पनि खेल्ने कार्यक्रम छ।

अस्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्ने पनि तय भएको छ।

ओमानमा हुने एसिया छनोटमा नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन्।

साउन ३०, २०८२ शुक्रबार ०७:२८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।