भरतको भ्रष्टाचार खोज्ने रिपोर्टरको अनुभव : बदमासी उजागर गर्दा अर्ध भूमिगत भएँ, परिवारका सदस्य डराए

भरतको भ्रष्टाचार खोज्ने रिपोर्टरको अनुभव : बदमासी उजागर गर्दा अर्ध भूमिगत भएँ, परिवारका सदस्य डराए

काठमाडौं : जताततै बागमती नगरपालिकाका मेयर भरत थापाको चर्चा थियो। नगरपालिका अन्तर्गतको बागमती माछा पोखरीलाई ताल बनाएर उनले चमत्कारै गरेको प्रचार भइरहँदा उकेरालाई भने उनको बदमासीको सूचना आइरहेको थियो।

होला त? खोजी सुरु भयो २०८० कात्तिकबाट।

खोजीको प्रारम्भ भरत तालको स्थलगत अनुगमनबाट सुरु भएको थियो। उनले विशाल ताल बनाएर त्यसलाई पर्यटक हब बनाउने दाबी गरेका थिए।

‘नगरपालिकाको ६५ करोड खर्च गरेर निर्माण गरेको ताल निर्माणमा भ्रष्टाचार, सरकारी बनको जग्गा अतिक्रमण, मधेस प्रदेश सरकारबाट दिएको ३० करोडको अनुदानमा भ्रष्टाचार अनि ताल खन्दा निस्किएको गेग्रानहरु अवैध रूपमा विक्री गरेर भ्रष्टाचार।’

खोजीका क्रममा ताल आवरणमा उनले चुल्याएको यस्ता भ्रष्टाचारका चाङ सूचना आए।

ताल क्षेत्रको वरपर जहाँ गिट्टीको चाङ र निर्माणाधीन भवन थियो त्यसको तस्बिर खिच्न जोखिम। भरतका सहयोगी सधैँ वरपर। स्थानीय नबोल्ने। कतिसम्म भने प्रतिस्पर्धी दलका जिल्ला तहका नेताहरू समेत भरतबारे खुलेर बोल्न डराइरहेका थिए।

ताल निर्माणबारे नगरपालिकाले गरेको खर्च र खर्चको वैधानिकताबारे नगरपालिबाट केही सूचना आयो। गोप्य रूपमा सम्पर्कमा आएका केही व्यक्ति, विभिन्न सरकारी निकायमा परेको उजुरी, उनको पृष्ठभूमि लगायतका पक्ष केलाउन लागेँ। 

यसमै जोडिएको विप्लव समूहका नेता कुमार पौडेलको हत्या जो उनको भ्रष्टाचारसँग गएर ठोकियो। उनी राजमार्गगको ढाटमा काम गर्दाका प्रत्यक्षदर्शी, उनको आर्थिक र पारिवारिक अवस्थाबारे जानकारहरू, माओवादीमा प्रवेश गर्दाको उनको पृष्ठभूमि, माओवादीमा प्रवेश भएपछिको उनले बागमती नगरपालिका क्षेत्रमा फैलाएको आतङ्क लगायतका प्रमाणहरू क्रमबद्ध रूपमा सङ्कलन हुँदै गयो।

रिपोर्टिङकैक्रममा भरतसँग जनकपुरको गम्भीर अपराधमा नक्खु कारागारमा रहेका सञ्जय टकला जानकार रहेको सूचनाको आधारमा जेलमै गएर भेटेँ। प्रारम्भमा अनकनाएका उनले भरत सडकको कर उठाउन ढाँटमा बस्ने सामान्य कर्मचारीको पृष्ठभूमिसहितका महत्त्वपूर्ण जानकारी दिए।

उनको वर्तमान आर्थिक हैसियतबारे खोज्दा निर्माण कम्पनी, पेट्रोल पम्प अनि घर लगायत खुल्यो। आर्थिक हैसियतबारे तथ्यपरक सामग्री सङ्कलनपछि उनीसँगै भेट्ने प्रयास भयो। बल्ल बल्ल उनी भेट्न राजी भए। तर सबै प्रमाणहरू उनका अगाडि मिथ्या थिए। उनले जे जति सम्पत्ति छन् ती सब भाइको हो भनेर दाबी गरे।

उकेराले खोजी गरिरहेको बेलासम्म उनी बागमती नगरपालिका क्षेत्रका दबंग मेयरै थिए। उनी विरुद्ध मधेस प्रदेशको सार्वजनिक लेखा समितिदेखि केन्द्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परे पनि उनी निस्फिक्री थिए। सत्तामा उनकै दलको नेतृत्व जो थियो।

२०८० पुस १७ मा ‘सर्लाहीका ‘दबङ’ मेयर भरतविरुद्ध जताततै भ्रष्टाचारको उजुरी, तर ‘डर’ले गर्दैनन् छानबिन’ शीर्षकमा समाचार प्रकाशित भयो।

भरतको बदमासीबारे सामान्य समाचार लेखेकै आधारमा पत्रकार कुटिएका थिए। भर थिएन उनको समूहको। समाचार प्रकाशित भएपछि प्रत्यक्ष/ प्रत्यक्ष रूपमा धम्की आए। परिवारका सदस्य बागमती नगरपालिका नजिकै। सुरक्षा जोखिम बढ्ने नै भयो। परिवारका सदस्यहरू साँझ बिहान घर बाहिर हिँड्न छाडे। घर गएको बेलामा म आफैँ पनि अर्थ भूमिगत शैलीमा बस्नुपर्ने भयो।

समाचार प्रकाशित हुनु अगाडि उनको अन्तर्वार्ता लिइसकेकाले त्यो पनि प्रकाशित भयो भोलिपल्ट उनको दाबीसहित जहाँ उनले आफूलाई साधु र इमानदार नेता भएको दाबी गरिरहे।

सागरनाथ बन विकास परियोजनाको जग्गा अनुमति नै नलिई उनले जवर्जस्ती अतिक्रमण गरेर ताल र बगैँचा बनाएको सूचनाहरू थिए। त्यसको भेरिफाई गर्दै जाँदा परियोजनाले पटक-पटक बनको जग्गामा भौतिक संरचना नबनाउन पत्राचार गरे पनि पेलेरै काम गरेको खुल्यो।

खोजीमा वनको जग्गामा ताल नबनाउनु भन्दै २०७६ भदौ १८ मा सागरनाथ वन विकास परियोजनाले पत्र पठाएको खुल्यो। अनुमति नलिई सागरनाथ परियोजनाकै ९० बिगा जमिनमा मधेस प्रदेश सरकारसँग पैसा लिएर आँप रोपेको पुष्टि भयो।

भरतविरुद्ध मुद्दा नलैजान माओवादी नेता तथा कार्यकर्ताहरूले राँके जुलुस निकाल्दै दबाब बढाइरहेका थिए। बनका कर्मचारीहरू प्रक्रिया अगाडि बढाउन डराइरहेको अवस्थामा भेटिए। औपचारिक रूपमा पत्र पठाउने तर त्यसपछि निष्क्रिय बस्ने गरेको देखियो।

स्थलगत अनुगमनपछि तेस्रो समाचार सङ्घीय सरकारको जग्गामा भरत थापाको मनमौजी, पहिले ताल अहिले बगैँचा शीर्षकमा प्रकाशित भयो २०८० चैत ६ मा।

उता दीपेन्द्र के खनाल खगेन्द्र लामिछानेसहितका कलाकार लिएर उनै थापाको बायोपिकको छायाङ्कन गरिरहेका थिए। त्यसबारे पनि फलोअप जारी थियो। उकेराले थापाको भ्रष्ट साम्राज्यको उजागर गरिरहेकै थियो। बल्ल २०८० चैत २८ मा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा र उनको परिवार विरुद्ध पहिलो मुद्दा लग्यो विशेष अदालतमा।

अख्तियारले थापा नगर प्रमुखको रूपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ देखि २०७९ माघ २९ सम्मको अनुसन्धानमा पाँच करोड ३३ लाख ५३ हजारको स्रोत नखुलेको दाबीसहित अभियोग पत्र दायर गर्यो।

यो बिचमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विशेष समय लिएर बोल्नेक्रममा थापाको बचाउ गरे। अख्तियारले मुद्दा लगिसकेका उनी लोकप्रिय मेयर भएको र माओवादीमा रहेकैले एमालेले अख्तियार लगाएर फसाउन लागेको दाबी समेत गर्न भ्याए।

तर थापाविरुद्धको मुद्दाकोक्रम रोक्ने उनको प्रयास सफल भएन। २०८२ वैशाख ११ मा उनी विरुद्ध वनले वनको जग्गा अनधिकृत रूपमा कब्जा गरेको दाबीसहित एक अर्ब ४९ करोडको बिगो कायम गरेर मुद्दा दायर गर्यो। उनी ५० हजार धरौटीमा छुटे।

मुद्दाकोक्रम बढ्दै गयो। अख्तियारले भरत ताल निर्माणमा ढुंगा गिट्टीमा ३० करोडको भ्रष्टाचार भएको दाबीसहित मुद्दा लग्यो। अनि चौथो मुद्दाको रूपमा माछा पाल्ने निहुँमा सङ्घीय र मधेस प्रदेश सरकारबाट अनुदान लिई राष्ट्रिय वन क्षेत्रमा बिना स्वीकृति पोखरी निर्माण गरी अनियमितता गरेको आरोपमा मधेशका पूर्व अर्थमन्त्री विजय कुमारसहित ८ जनालाई प्रतिवादी बनायो। बिगो थियो ५६ करोड ७१ लाख।

यीमध्ये अकुत र ३० करोड भ्रष्टाचारमा विशेषबाट फैसला आयो साउन २१ मा अकुतमा दोषी ठहर भएका भरत भ्रष्टाचारमा समेत दोषी ठहर भए र बुधवार उनलाई १० करोड जरिवानासहित ८ वर्ष कैद निर्धारण गर्यो विशेषले। उनका तीन मुद्दा अझै विचाराधीनै छ। प्रचण्ड आफ्नो लोकप्रिय मेयरलाई जेलहुँदा मौन छन्।

सम्बन्धित समाचार

साउन २९, २०८२ बिहीबार २१:३९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।