२१ वर्षमै वडाअध्यक्ष बनेका रुद्र चापाँगाइँसँग हिजोका कुरा : त्यो बेला मनोहराको पानी पिइन्थ्यो, अहिले त सपना जस्तै लाग्छ

काठमाडौं : गोठाटारका स्थानीय बासिन्दा हुन् रुद्र प्रसाद चापाँगाइँ। उनी उमेरले ६० वर्ष लागे, तर जोस र जाँगर भने अहिलेका युवाको भन्दा कम छैन। डेढ वर्षको उमेरमा बुबा गुमाएका चापाँगाइँ १४ वर्षदेखि बामपन्थी विचारधारामा सक्रिय भए। चापाँगाइँ २१ वर्षको उमेरमा गोठाटार-३ का वडा अध्यक्ष बने।
एमालेमा लामो समय बिताएका उनी अहिले एकीकृत समाजवादीको बागमती प्रदेश सचिवालय सदस्य छन्। उनका अनुसार मल्लकालिन समयदेखि नै चापाँगाइँ परिवार काठमाडौंको गोठाटार क्षेत्रमा बसोबास गर्दै आएको हो।
चापाँगाइँले त्यो समयमा देखे-भोगेका अनुभव उकेराको साप्ताहिक स्तम्भ हिजोका कुरमा साटेका छन्:
गोठाटारका मान्छेलाई छोरी नदेऊ भन्थे
म जन्मेर हुर्केको गाउँ हो गोठाटार। मेरो बाल्यकाल तेज विनायक प्राथमिक विद्यालयमा सुरु भयो। त्यहाँ म तेस्रो कक्षासम्म पढे। अहिले त्यो विद्यालय माध्यमिक बनेको छ, तर त्यसबेला त्यस्तो सुविधा थिएन। त्यसपछि म गान्धी आदर्श माध्यमिक विद्यालयमा भर्ना भएँ र २०४१ सालमा एसएलसी पास गरे।
त्यतिबेलाको हाम्रो कक्षामा छोरीहरू पनि हुन्थे। यो करिब ४० वर्षअघिको कुरा हो। संख्यामा भने छोराहरू बढी थिए। छोरीहरू राम्रो पढ्थे। हामीसँगै पढेका ती छोरीहरू आज ठूला-ठूला अफिसर भइसकेका छन्। ‘छोरीलाई पढाउनु हुँदैन’ भन्ने कुरा मैले खासै सुनेको थिइनँ, बरु सबैले पढाउनै पर्छ भन्ने सोच राख्थे।
गोठाटारको भौगोलिक स्वरूप भने निकै कठिन थियो। बस्ती बागमती नदी र मनोहरा खोलाबीच थियो, पश्चिमपट्टि भने विमानस्थलको धावनमार्ग। खेतका फाँटहरू, गाईवस्तु र खेतीपाती नै यहाँको जीवनको आधार थियो। घर-घरमा धारो थिएन, पानी ओसार्न नदीमै जानुपर्थ्यो। त्यो बेला बागमती र मनोहरा दुवैको पानी यति स्वच्छ थियो कि अहिले सम्झिँदा कथा झैँ लाग्छ। धेरैले मनोहराको पानी पिउँथे, केहीले बागमतीको। कतिले त ‘गोठाटारमा बस्ने मान्छेलाई छोरी नदेऊ’ भन्थे, कारण यो ठाउँ दुर्गम र सुविधा विहीन थियो।
एक घटना अझै मस्तिष्कमा ताजा छ-हामीलाई पढाउन आउने मिस बर्खामा बागमती पार गर्दै गर्दा बग्नुभएको थियो। त्यस्तो घटना त्यतिबेला सामान्यजस्तै थियो, किनकि नदीले कति जनालाई बगायो भनेर गन्नै नसकिने अवस्था थियो। पुल नहुँदा नदी तरेर मात्र आवतजावत गर्न सकिन्थ्यो।
अहिले भने गोठाटार शहरझैँ भइसकेको छ। घरैघर, बाटाघाट, पक्की संरचना। तर त्यतिबेला, तेज विनायकबाट वरिपरि हेर्दा यो गाउँ तराईजस्तो देखिन्थ्यो। धान रोप्ने काम पनि आकासे खेतीमा भर पर्थ्यो।
गोठाटार गाईवस्तु चराउने ठाउँ
मैले थाहा पाउँदासम्म गोठाटार बासिन्दाको मुख्य आम्दानी भनेको खेतिपाती नै थियो। यहाँ धान, गहुँ र मकै खेती हुन्थ्यो। पशुपालन पनि गरिन्थ्यो। यहाँका मान्छेहरूले गाई, भैँसी, भेडा, बाख्राहरू पाल्थे। हामीले पनि ३-४ वटा भैँसी र भेडा-बाख्रा पाल्ने गर्थ्यौं।
म जन्मेको डेढ वर्षमा नै बुबा बित्नुभएको रहेछ। मैले उहाँको अनुहार पनि देखेको छैन। आमाले नै मलाई हुर्काउनु भएको हो। त्यसैले सबै जिम्मेवारी मेरो आमामाथि नै थियो। पछि कुखुरा पाल्ने चलन सुरु भयो। पहिले हाम्रो घरमा कुखुरा पाल्ने चलन थिएन। हजुरबुबाले कुखुरा पाल्न दिनु हुन्थेन। समयक्रमसँगै कुखुरा पालन सुरु भयो।
हाम्रो घरमा एउटा चलन थियो-हजुरबुबाले ‘सन्जे’ नभनी खाना खान पाइँदैन थियो। उहाँहरूलाई ‘सन्जे’ भन्न एक घण्टा लाग्थ्यो। व्रतबन्ध नगरेको मान्छेले छोयो भने पनि खाना खान पाउँदैनथ्यो। केवल कर्म चलेको मान्छेले छोएको खाना मात्रै खाने चलन थियो।
उहाँहरूको त्यो कठोर शैलीबीच हामीले आम्दानीको अर्को स्रोतका रूपमा कुखुरा पालन गरेर जीवनयापन गरिरहेका थियौं। अहिले त समय धेरै परिवर्तन भइसकेको छ।
गोठाटारबाट किनमेल गर्न ठिमी, खोला आएपछि बाटो ठप्प
गोठाटारमा पुरै तराईझैँ खुल्ला मैदान अर्थात् ‘टार’ थियो। त्यही समयमा हाम्रा पुर्खा त्यहाँ आएर बस्न थालेका रहेछन्। उनीहरुले गाईगोठ राखेर एउटा सानो समूह बनाएका थिए। त्यहाँको चर्चित गोठका कारण ‘टार’को नाम बदलेर गोठाटार बनाइएको हजुरबुबाले बताउनु हुन्थ्यो।
यस ठाउँको अर्को नाम भैमाल पनि छ। हाम्रा चापागाइँ परिवारमा मल्लकालिन समयको एकजना ज्योतिष हुनुहुन्थ्यो। हजुरबुबाका अनुसार, मल्ल राजाले आफ्नो व्यक्तिगत समस्याका लागि ज्योतिषसँग परामर्श लिनुभएको रहेछ। ज्योतिषले भने, ‘तिम्रो मृत्यु यस दिन हुनेछ।’ यो सुन्दा राजाले विरोध गर्ने वा अनुकूल नभए कारबाही हुने अवस्था थियो। तर हाम्रो पुर्खाले ज्योतिषले भनेको कुरा स्वीकार गर्नु भएको थियो। पछि राजाका मान्छेहरूले उक्त ज्योतिष योग्य मान्नुभयो र उनलाई सुरक्षित स्थानमा बस्न दिनु पर्ने भएकोले त्यही ठाउँ भैमाल भनेर चिनिन थालेको हो।
पेप्सिकोलादेखि तेज विनायक हुँदै माथिसम्मको क्षेत्रलाई अझै भैमाल भनिन्छ। हाम्रा पुर्खाहरू यहीँ बसोबास गर्नु भएको हुनाले हामीले यी कुराहरू थाहा पाएका हौँ।
हाम्रो गाउँका मान्छेहरू नुन भुट्न वा अन्य आवश्यक सामान किनमेल गर्न ठिमी जानु पर्थ्यो। त्यसबेला आसपासमा चिया पसल पनि थिएन। बजार जान मनहरा खोला तरेर जानुपर्थ्यो। वर्षातको समयमा खोला तर्न नसकिने भएकाले आवतजावत रोकिन्थ्यो।
सन् २०३८ सालतिर हाम्रो तिरको किनमेल मुख्य रूपमा मट्टीतेल र केही आधारभूत सामानहरूमा सीमित थियो। बिजुली आएपछि केही नयाँ सुविधा सुरू भयो।
हामी बसेको ठाउँ काठमाडौं नै हो, तर काठमाडौं भन्नाले ठमेल, इन्द्रचोक, असन, भोटाहिटीजस्ता विशेष बजार भएको ठाउँ बुझिन्थ्यो। पुतलीसडकलाई हामी काठमाडौं भन्दैन थियौँ, किनभने त्यहाँ बजार थिएन। हाम्रो हस्पिटल नरदेवी थियो। बिरामी परेमा त्यहाँ जाने चलन थियो।
यातायातको कुरा गर्दा, गोठाटार चोकबाट पैदल हिँडेर जोरपाटीसम्म पुगेर त्यहाँबाट साझा यातायात प्रयोग गर्नु पर्थ्यो। पहिले बस चावहिलसम्म मात्र आउँथ्यो पछि क्रमशः यात्राको सुविधा विस्तार भयो। अहिले ती समय सम्झँदा पनि सपना जस्तो लाग्छ। घरबाट गाडी दौडन्छ, बाटो छ, पुल छ।
२१ वर्षमै वडाअध्यक्ष, मदन भण्डारीसँग संगत
३६ सालको जनमत संग्रहको आन्दोलन थियो। म पनि बहुदलको पक्षमा नारा लगाएर हिँडेको मान्छे हुँ। त्यतिबेला मेरो उमेर केवल १४ वर्षको थियो। हामी साना भए पनि हाम्रो आवाज बुलन्द हुन्थ्यो। मलाई अहिले पनि याद छ, गोठाटारका अधिकांश मान्छे बहुदलको पक्षमा थिए। हामीले देखेको पञ्चायत, हामीले भोगेको पञ्चायत अत्यन्त निर्मम थियो। कसैप्रति माया नै थिएन। पञ्चायतको विरुद्धमा कसैले बोल्न पाउँदैनथ्यो।
त्यो समयमा गोठाटारमा प्रधानपञ्च हरिप्रकाश पुडासैनी हुनुहुन्थ्यो। त्यसपछि बद्री प्रसाद चापागाइँ र पछिल्लो समय कन्चन पुडासैनी प्रधानपञ्च हुनुहुन्थ्यो। आन्दोलन चर्काउँदा प्रधानपञ्च हरिप्रकाश पुडासैनी नै हुनुहुन्थ्यो। उहाँ बाहिरी रूपमा नरम देखिनुहुन्थ्यो, तर आन्तरिक मनमा के थियो, थाहा पाउनु सकिएन।
म २०४६ सालमा राजनीतिक नेतृत्वमै रहे। आफूलाई भाग्यमानी ठान्छु। ४३ सालमा नै जनपक्षीय उम्मेदवार हुने मौका पाएँ। त्यसबेला म बामपन्थी आन्दोलनमा सक्रिय थिएँ। क्याम्पस स्तरमा नै अनेरास्ववियुको पाँचौमा राजनीति सुरु गरेको थिएँ। म एमाले निकट रहेर लामो समय नेतृत्वमा रहे। अहिले म एकीकृत समाजवादीमा छु।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संविधानमा नभएको कुरा संसदमा उठाउनुभयो। त्यसपछि सर्वोच्च अदालतले बेठीक भएको निर्णय सुनायो।
हामी ४३ सालमा बामपन्थी कसरी भइयो भने, हामीलाई निम्न वर्गीय मान्छेहरू प्रिय लाग्थे। हामी तानाशाहबाट त्यसरी खुशी थिएनौं। त्यसैले कम्युनिष्टले सर्वहारा वर्गको प्रतिनिधित्व गर्छ भन्ने विश्वास थियो। सर्वहारा प्रतिनिधि भएपछि निम्न वर्गीय मानिस माथि उठ्ने हो भन्ने हाम्रो बुझाइ थियो।
०४६ सालअघिको बामपन्थी आन्दोलन गोप्य रूपमा चल्नुपर्थ्यो। मैले सोही क्रममा ०४३ सालमा उम्मेदवारी दिएको थिएँ। मेरो उमेर २१ वर्ष थियो। चुनावमा मेरो प्रतिस्पर्धी दामोदर दाहाल र रामहरि पण्डित थिए। उनीहरू पराजित भए, मैले ३ सयभन्दा बढी मत पाएको थिएँ।
त्यस चुनावमा मैले जितेको ठाउँ गोठाटार गाविस वडा नम्बर ३ थियो। २१ वर्षको उमेरमा वडाध्यक्ष बनेपछि मैले बुझे की बुझियो कि यहाँका अधिकांश मानिस बामपन्थी छन्। त्यसपछि ५४ सालको चुनावमा म गोठाटार गाविसको उपाध्यक्ष बने। वडाध्यक्ष भएपछि मदन भण्डारी लगायतसँग परिचय बढ्यो। हाम्रो समस्याको समाधानका लागि पहल गरियो र विद्यादेवी भण्डारीको सहयोगमा अहिलेको गोठाटारको पहेँलो पुल निर्माण गर्न सफल भयौँ।
स्कुलले विद्यार्थीहरूबाट पनि निकै आन्दोलन भएको थियो। त्यतिबेला अहिलेको जस्तो सञ्चार माध्यम थिएन। समाचारपत्रमा देखिएका समाचारपछि विद्यार्थी नेताहरूको आडमा रत्नपार्कका रेलिङ भाँचिन्थ्यो। अहिलेको जस्ता सञ्चार माध्यम नहुँदा त्यस समयमा समाचारपत्र हेरेर मात्रै आन्दोलन गरिन्थ्यो।
१५ वर्षको उमेरमा विवाह
मेरो बुबा म डेढ वर्षको हुँदा नै बित्नु भएको थियो। मलाई आमाले हुर्काउनुभयो। हाम्रो परिवारको पृष्ठभूमि राम्रै थियो। आमाको चाहना थियो कि छोराले राम्रै काम गरोस्। विवाहको निर्णय व्यक्तिगत चाहनामा हुन्थेन, तर घरमा आमा एक्लै भएकाले धेरैले ११ वर्षको उमेरदेखि नै विवाहका लागि दबाब दिनुहुन्थ्यो।
मेरो १५ वर्षको उमेरमा विवाह भयो त्यो पनि १५ वर्षकै केटीसँग। यो घटना २०३८ सालको हो। त्यो समयमा सुन अहिले जस्तो महँगो थिएन र मान्छेसँग धेरै पैसा हुन्थेन। पुलाउ जस्ता विशेष परिकार हुँदैनथे। दालभात, तरकारी, अचार मुख्य भोजन थिए। सक्नेले खसी काट्थे, नसक्नेले कटाउँदैनथे।
साउन २९, २०८२ बिहीबार २०:२६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।