फिल्म माग्ने राजाबाट निकालिएको बल्ल स्विकारिन् मिस पविले, कारण थाहा नभएको दाबी

काठमाडौं : टिकटकबाट अभिनय क्षेत्रमा आएकी कलाकार मिस पविले फिल्म माग्ने राजामा आफ्नो सिन काटिएको स्वीकार गरेकी छिन्। उनले उकेरामा प्रकाशित समाचार झुटो भएको दाबी गर्दै आएकी थिइन्।
न्युज२४ को ई टक शोमा उनले फिल्मबाट निकालिएको स्विकारिन्। तर किन निकालिएको हो थाहा नभएको उनको दाबी थियो।
फिल्ममा ३-४ सिन भए पनि पछि एक सिन मात्र राखिएको, अभिनेता आर्यन सिग्देलसँगको सिनका लागि सुटिङमा बोलाउँदा कमेडी दरबारको वर्कसपका कारण जान नसकेको र पछि राख्न भने पनि कल नआई समाचार आएको उनले बताइन्।
फिल्ममा आफ्नो एक सिन मात्र राखेको र काटिएको सिनमा अर्को कलाकार राख्दा पैसा दिनु परेको भन्दै सम्झौताको २५% मात्र पारिश्रमिक पाएको पनि उनले बताइन्।
'फिल्ममा एक सिन राखेको रहिछ। मैले त त्यो पनि नराख्नु भनेको थिएँ,' उनले भनेकी छिन्' त्यही सिनको डबिङ गर्न बोलाउँदा बाँकी पारिश्रमिक माग्दा निर्देशकले काटिएको सिनमा अर्को कलाकार राख्दा एडजस्ट गर्नु परेको बताएर बाँकी पारिश्रमिक दिएनन्।'
उनले आफूले अभिनय गर्दा पनि किन सिन काटेको त्यो थाहा नभएको तर अभिनयमा प्रयास गरिरहेको बेलामा भएको घटनाले दाँतमा ढुंगा लागेजस्तै भएको बताइन्।
टिकटकमा मिस पवीको उपनामले परिचित भएपछि म्युजिक भिडियो हुँदै कमेडी शोमा सक्रिय उनले अन्य केही फिल्ममा भूमिका पाइरहेकी छिन्।
साउन २९, २०८२ बिहीबार १९:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।