सिस्नेरी घटनामा ६ किशोरको मृत्यु छानबिन छल्न एन्फाको चलाखी, शालिक राख्न परिवारसँग सहमति भएको दाबी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरी पहिरोमा परेर मृत्यु भएका पीडित परिवारलाई झुक्याएर सहमति पत्रमा हस्ताक्षर गराएको छ। एन्फाले बुधबार पीडित परिवारलाई छलफलको लागि बोलाएर सहमति पत्रमा हस्ताक्षर गराएको हो।
यसबारे एन्फाले पीडित परिवारसँग सम्झौता भएको दाबी गर्दै बुधबार सामाजिक सञ्जाल फेसबुकमा फोटोसहित सार्वजनिक गरेको छ। तर पीडितमध्ये ३ जना परिवारले एन्फासँग कुनै सहमति नगरेको पाइएको छ। एन्फाले भने यसबारे खुलाएको छैन।
उकेरालाई प्राप्त सहमति पत्र अनुसार विकल रेग्मीकी आमा कमला रेग्मी, आदित्य बलम्पाका दाई भक्त बहादुर बलम्पा, र दिवस बाँनियाका परिवारले सहमति पत्रमा हस्ताक्षर गरेका छैनन्। तर एन्फाले भने सहमति भएको भन्दै फोटो सार्वजनिक गरेको हो।
यस विषयमा उकेराले विकल रेग्मीकी आमा कमला रेग्मीलाई प्रश्न गर्दा उनले आफू कुनै पनि सम्झौता नगरेको बताइन्।
उनले भनिन्, ‘हामीलाई पनि सहमति पत्रमा हस्ताक्षर गर्न र फोटो खिच्न बोलाइएको थियो। तर मैले मानिन। जबसम्म घटनाको बारेमा छानबिन हुँदैन, तबसम्म सहमति गर्दिन।’
ज्यान गुमाएका पीडितमध्ये सहमति दिनेमा अनुपम घलानका बुवा ललित बहादुर घलान, साईमन योन्जनका बुवा हेम योन्जन, र प्रियान्स आचार्यका बुवा टिकाराम आचार्य रहेका छन्।
रेग्मीका अनुसार एन्फाले छलफलको लागि बोलाएर सहमति पत्रमा हस्ताक्षर गराएको थियो। उनले भनिन्, ‘हामीलाई छलफल गर्नु छ भनेर बोलाएका हुन्। सहमति पत्रमा हस्ताक्षर गर्न रहेछ। हामी ५ जना पीडित परिवार गएका थियौं। तर सहमति पत्रमा ६ जना बनाएर हस्ताक्षर गरिएको छ, जसमा ३ जना पीडित परिवारका सदस्यको नाम रहेन।’
तर एन्फाका प्रवक्ता सुरेश शाहले पीडित परिवारले सहमति गरेको बताएका छन्। उनले ३ जना पीडितले मात्रै सहमति गरेको कुरा खुलाएनन्। उनले उकेरासँग भने, ‘हामीले सहमति गरेका छौं। ४ वटा बुँदामा सहमति भएको हो।’
पीडित परिवारले एन्फाको गम्भीर लापरबाहीका कारण आफ्ना छोरा मारिएको भन्दै विभिन्न समयमा विरोध प्रदर्शन गर्दै आएका थिए। २०८१ असोज १२ गते सिस्नेरीमा रहेको एन्फा एकेडेमीका ६ जना खेलाडी पहिरोमा परेर मारिएका थिए।
आलोचनाको डरले एन्फाको कमेन्ट बक्स बन्द
फेसबुकको आलोचना सहन नसकेर एन्फाले फेसबुकको कमेन्ट बक्स बन्द गरेको छ। गत साउन ५ गते साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले बंगलादेशसँग ४-० ले पराजित भएपछि एन्फाले आफ्नो कमेन्ट बक्स बन्द गरेको हो।
सिस्नेरी घटनामा पीडित परिवारसँग भएको सम्झौता फोटोमा समेत एन्फाले कमेन्ट बक्स बन्द गरेको छ।
एन्फाको फेसबुक पेजमा २७ गते चर्च ब्वाइज र एनआरटी फुटबल क्लबको खेलमा कमेन्ट बक्स खुलेको देखिन्छ। त्यसपछि पोष्टमा कमेन्ट बक्स बन्द गरिएको छ।
आफूलाई गाली आउने कमेन्टमा एन्फाले बन्द गर्ने र ताली दिने फोटोमा मात्रै कमेन्ट बक्स खुलाउने गरेको देखिन्छ। ‘पदाधिकारीलाई नानाथरी गाली आउँदा कमेन्ट बक्स बन्द गरिएको हो। पछि पदाधिकारीको निर्णयपछि खुलाउने छौं,’ प्रवक्ता सुरेश शाहले भने।
साउन २९, २०८२ बिहीबार १८:१२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।