अमेरिकाबाट डिपोर्ट भए रविका ‘प्रिय’ रास्वपाका पूर्व केन्द्रीय सदस्य थापा, थिए अध्यागमनको हिरासतमा

काठमाडौं : आपराधिक गतिविधिका कारण पटक-पटक विवादमा आइरहने राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकाले नेपाल डिपोर्ट गरेको छ। अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आईसीई)को हिरासतमा करिब पाँच महिना रहेका थापा २०८२ साउन २२ गते राती सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए।
उकेरालाई प्राप्त प्रमाणमा उनलाई ‘इमिग्रेसन जज’ द्वारा नेपाल डिपोर्ट गर्ने निर्णय भएको देखिन्छ। २०२५ मार्च ११ मा अमेरिकाको पेन्सिलभेनियया पुगेका उनी विमानस्थलमै समातिएका थिए।
उनलाई पक्राउ गरी नेपाल डिपोर्ट गरिदिन अमेरिकी सरकारले १९ गते आदेश दिएको थियो। सोही अनुसार उनी डिपोर्ट भए।
अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका उनलाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पुरा गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो।
ब्युरोले उनलाई आवश्यक जानकारी सम्बन्धी फारम भर्न लगाएर नियन्त्रण मुक्त गरिसकेको छ। उने ब्युरोको जानकारी फारममा भने आफूलाई अमेरिकाले डिपोर्ट नगरेको र आफैँ नेपाल फर्किएको दाबी गरेका थिए। तर उकेराले प्राप्त गरेको प्रमाणले उनलाई अमेरिकाले डिपोर्ट गरेको प्रमाणित भएको छ।
अमेरिकामै रहँदा गम्भीर अपराधमा पक्राउ परेका उनी रवि लामिछानेका निकट र रास्वपालाई अमेरिकामा विस्तार गर्नेमध्येका एक मानिन्छन्। पृष्ठभूमि आपराधिक रहे पनि रविको जोडबलमा उनी पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।
ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन रविको कोर टिमका सदस्यले पैसा मागेको विवादमा उनको नाम पोलिएपछि उनलाई राजीनामा दिन दबाब बढेको थियो। पछि उनले केन्द्रीय सदस्यबाट राजीनामा गरेका थिए।
मोहनको विवादित पृष्ठभूमि
नेपालमा म्याग्दीका मोहन अमेरिकाको बाल्टिमोरमा बस्दै आएका थिए। रवि पनि अमेरिकामा रहँदा दुबैबीच मित्रता भएको थियो।
उनी विरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको मात्रै हैन अधिकांश मुद्दामा उनी दोषी ठहर समेत भएका छन्। उनको आपराधिक पृष्ठभूमिबारे उकेराले पहिलो पटक प्रमाण सार्वजनिक गरेको थियो।
थापा फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल समेत परेका थिए। अमेरिकामा उनी विरुद्ध सन् १९९९ देखि २०२२ सम्म ५० बढी मुद्दा चलेका तथ्य सार्वजनिक रेकर्डमै देखिन्छ। तीमध्ये अझैँ ६ वटा मुद्दा चलिरहेकै छन्। उनी विरुद्धको सबैभन्दा गम्भीर मुद्दा नक्कली सवारी चालक लाइसेन्स र परिचय पत्र बनाएको अभियोग हो।
उनी यो मुद्दामा सन् २००२ अक्टोबरमा पक्राउ परेर जेल परेका थिए। उनी विरुद्धको अभियोगमा नेपाल ठेगाना भई हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएको भनेर उल्लेख छ।
परिचय पत्र र सवारी लाइसेन्सका लागि आवेदन दिनेहरूको भाषा सहयोगीको रूपमा काम गर्दा उनले मेरिल्यान्ड एमभिए परिचय पत्र र सवारी लाइसेन्स नक्कली बनाएर ३ देखि पाँच सय जनालाई दिएको अभियोग लागेको थियो।
अभियोग पत्रमा उल्लेख भए अनुसार सन् २००१ को सेप्टेबरदेखि २००२ को सेप्टेम्बरसम्म उनले मेरिल्यान्ड मोटर भेइकल एड्मिनिस्ट्रेसनका कर्मचारी मेलरी एल चिसमसँग मिलेर नक्कली कार्ड र नक्कली लाइसेन्स बनाएका थिए। लाइसेन्सका लागि आवेदन दिएकाहरूले बुझाएको प्रमाण हेरेर निवेदनको प्रक्रिया अगाडि बढाउने जिम्मेवारी रहेको चिसमलाई प्रभावमा पारेर उनले नक्कली परिचय पत्रको आधारमा लाइसेन्स बनाइदिएको अभियोग लागेको थियो।
सो अभियोगमा धरौटीमा छुटे भने उनी थुनामा गएका थिए। उनी संलग्न आपराधिक घटनाबारे अमेरिकाको एफबिआइले समेत अनुसन्धान गरेको थियो। सन् २००६ मा मेरिल्यान्डको कोर्टले उनलाई सो अभियोगमा दोषी ठहर गर्दै २ वर्षसम्म विशेष निगरानीमा रहनुपर्ने सर्त राखेर रिहा गरेको थियो।
लेनदेनमा धोकैधोका
उनी विरुद्ध सबैभन्दा धेरै लेनदेनमा धोका दिएको सम्बन्धी केसहरू चलेका छन्। ट्याक्स छलीमा उनी विरुद्ध ३२ हजार अमेरिकी डलरसम्म जरिवाना भएको देखिन्छ। केही यातना दिएको केस छ।
सवारी नियम उलङ्घन गरेको, समयमा भाडा तिर्न नसकेको, कर नतिरेको, केस समेत छन् जसमा उनी अमेरिकी अदालतबाट दोषी ठहर भएको देखिन्छ। उनी विरुद्ध कुनै संस्था वा व्यक्तिले मात्रै हैन अमेरिकी सरकारले समेत मुद्दा दर्ता गराएको देखिन्छ।
२००८ मे २७ मा सर्किट कोर्ट अफ बाल्टिमोरमा दर्ता भएको ट्याक्स छलीको मुद्दामा उनको विपक्षमा फैसला भयो। उनले ३२ हजार ७९ रकम तिर्नुपर्ने आदेश आएको देखिन्छ। उनी विरुद्ध अहिले पनि अमेरिकी अदालतमा छ वटा केस चलिरहेको देखिन्छ।
सन् २०१२ डिसेम्बर १२ मा उनी विरुद्ध डिस्ट्रिक्ट कोर्ट फर बाल्टिमोर सिटीमा यातना सम्बन्धी मुद्दा दर्ता भएको थियो। सन् २०२३ फेब्रुअरी २३ मा नवीकरणको सूचना जारी भएको थियो। यो मुद्दा जीवितै छ।
उनी विरुद्ध २०१७ मा अनधिकृत रूपमा अर्काको सम्पत्ति कब्जा गरेको दाबी सहित डिस्ट्रिक्ट कोर्ट अफ बाल्टीमोरमा दर्ता भएको मुद्दा समेत सक्रिय नै छ। जोनियल एप्रोइसियोर एस्कोबारले सन् २०२२ मा दायर गरेको मुद्दाको समेत छिनोफानो भएको छैन।
अमेरिकामा नेपाली समुदायबीच समाजसेवी अनि अभियन्ताको आवरणमा रहेका उनी रेस्टुरेन्ट र रियल स्टेटको व्यापारमा संलग्न रहेको देखिन्छ। गैर आवासीय नेपाली सङ्घमा समेत आबद्ध रहेका उनी अमेरिकाको म्याग्दी समाजमा समेत आबद्ध थिए।
यस्तो आपराधिक पृष्ठभूमि भए पनि पार्टी सभापति लामिछानेको प्रिय भएकाले उनी राजनीति सुधार्ने भन्दै खुलेको रास्वपाको केन्द्रीय सदस्य भएका थिए। उनीसँगै सरकारी कागजपत्र किर्तेमा जिल्ला अदालतमा मुद्दा चलाइएको ज्वाला संग्रौला पनि रास्वपाको केन्द्रीय सदस्य मनोनीत भएकी थिइन्। उनी अहिले पनि सोही पदमा कार्यरत छिन् भने रवि पत्नी निकिताको नारी टेलिभिजनमा काम गर्छिन्।
साउन २९, २०८२ बिहीबार १८:१५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।