मःम भित्र औंठी भेटिएपछि धरहरा टपरी मःमलाई दुई लाख जरिवाना

मःम भित्र औंठी भेटिएपछि धरहरा टपरी मःमलाई दुई लाख जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी मःम लाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ।

महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री-वितरणका लागि तयार गरेको मःम मा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्ड अनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो।

काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी मःमले पटक-पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन्। ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,’न्यौपानेले भने।

महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्कमार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। 

साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री-वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ।

साउन २९, २०८२ बिहीबार १६:३६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।