कालीमाटी र कुलेश्वरका अवैध पुलमा महानगरले चलायो डोजर

काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ भित्र पर्ने कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले अनधिकृत रूपमा निर्माण गरेका पुलमा डोजर चलाएको छ।
महानगरका अनुसार यी पुलहरू वर्षायाममा पानी जम्ने र फोहोर थुप्रिने मुख्य कारण बनेका थिए, जसले वरिपरिका बासिन्दालाई असुविधा पुर्याइरहेको थियो।
महानगरका अनुसार पुलहरू कुनै पनि सरकारी अनुमति वा प्राविधिक मापदण्डबिना व्यक्तिगत प्रयोजनका लागि बनाइएका थिए। वडा नम्बर १४ का वडा सदस्य नविन नकर्मीले आफ्नो सुविधा मात्रका लागि निर्माण गरिएका यी संरचनाले सर्वसाधारणलाई समस्या सिर्जना गरेकाले भत्काउनु परेको बताए। उनका अनुसार स्थानीयवासीको गुनासो र सार्वजनिक सरोकारकै आधारमा यो कदम चालिएको हो।
त्यस्तै वडा नम्बर १४ की महिला सदस्य शोभा खड्काले वडा नम्बर १३ लाई पुग्ने अर्को विकल्पको बाटो रहेकाले यो पुल आवश्यक नभएको बताइन्। उनका अनुसार पुल सुविधा भन्दा बढी अवरोध र जोखिमको कारण बनेपछि महानगरले हटाउने निर्णय लिएको हो।
महानगरले अवैध संरचना नियन्त्रण अभियानलाई निरन्तर अघि बढाइरहेको र सार्वजनिक हितमा बाधा पुर्याउने कुनै पनि संरचना भत्काइने चेतावनी दिएको छ।
साउन २९, २०८२ बिहीबार १५:४४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।