गृहमन्त्रीको सचिवालयमै रविको मुद्दा हेर्ने न्यायाधीशविरुद्ध उजुरी तयार भयो : सांसद चन्दा कार्की

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद प्रा.डा. चन्दा कार्कीले गृहमन्त्रीको सचिवालयमै रवि लामिछानेको मुद्दा हेरिरहेका न्यायाधीशविरुद्ध उजुरी तयार पारिएको आरोप लगाएकी छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले न्यायपालिकामा नाङ्गो हस्तक्षेप गरेको र यसले स्वतन्त्र न्यायको सम्भावनालाई समाप्त पारेको बताइन्।
सांसद कार्कीले रुपन्देही जिल्ला अदालतमा लामिछानेको निवेदनमाथि पेसी तोकिएकै दिन योजनाबद्ध रूपमा गृहमन्त्रीको कार्यकक्षबाटै उजुरी तयार पारी न्याय परिषद्मा पठाइएको सूचना बाहिरिएको दाबी गरिन्।
उनले प्रश्न गरिन्, ‘गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्यूको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीज्यूकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको सूचना र समाचारहरू छरपष्ट बाहिरिएका छन्। यसरी योजनाबद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ सभामुख महोदय?’
उनले गृहमन्त्रीको नैतिकतामाथि पनि प्रश्न उठाइन्। मानव तस्करीको विषयमा नाम जोडिएपछि कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएको तर गृहमन्त्रीको नैतिकता नजागेको भन्दै उनले आलोचना गरिन्। साथै, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले समेत गृहमन्त्रीले न्यायालयमा हस्तक्षेप गरेको अभिव्यक्ति दिएको स्मरण गराइन्।
सांसद कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि कटाक्ष गरिन्। उनले विगतमा प्रधानमन्त्रीले ‘हामीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौं र निर्णय वफादारीमा हुन्छ’ भनेको तर आज अदालतको फैसलाको जिम्मा सरकारले लिन नसक्ने भन्नु दोहोरो चरित्र भएको बताइन्।
प्रधानमन्त्रीले बुधबार संसदमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भनिन्, ‘हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर जानुभयो। ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षरमार्फत आफ्नो प्रतिक्रिया दिइसकेकाले म त्यसको जवाफ दिन चाहन्न।’
सरकारले सुशासनको नारा लगाए पनि मन्त्रीहरू एकपछि अर्को भ्रष्टाचार र काण्डमा मुछिएको कार्कीको आरोप थियो।
‘पुराना काण्डहरू छिनोफानो नहुँदै नयाँ-नयाँ लिचीबारी काण्ड, विधेयक छेड़खानी, फर्जी कार्यक्रममा विदेश भ्रमण काण्डहरु सार्वजनिक भइरहेकै छन्,’ उनले भनिन्, ‘सुशासनको भाषण दिनुअगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गरी सार्वजनिक गर्न चुनौती दिन चाहन्छु।’
आफूहरू केवल रविको लागि नभई सत्य, न्याय र लोकतन्त्रको न्याय प्रक्रियाप्रतिको विश्वासका लागि लडिरहेको बताउँदै उनले सरकारले जनभावनाको सम्मान गर्नुपर्ने र आफूहरूको आन्दोलन जारी रहने बताइन्।
साउन २९, २०८२ बिहीबार १३:५८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।