‘भैरहवा कारागारमा रविलाई राखिएको कोठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखियो’

‘भैरहवा कारागारमा रविलाई राखिएको कोठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखियो’

रुपन्देही : कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको थुनुवा कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखेको जनाएको छ।

सहकारी ठगीको सङ्गठित अपराध मुद्दामा विगत चार महिनादेखि थुनामा रहेका लामिछानेको सुविधाबारे विभिन्न चर्चा चलेपछि कारागारले शुक्रबार एक विज्ञप्ति जारी गरी यसबारे स्पष्ट पारेको हो।

विज्ञप्तिअनुसार, लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी उनलाई सुरुदेखि नै छुट्टै बन्दीगृहको अलग्गै कोठामा राखिएको छ। उक्त कोठामा छुट्टै शौचालयको व्यवस्था रहेको र झ्यालमा पहिले रहेको प्लाइउड हटाएर जाली राखिसकिएको कारागारले जानकारी दिएको छ।

साथै, उनलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम रहेको पनि स्पष्ट पारिएको छ।

‘क्षमताभन्दा तीन गुणा बढी बन्दी भए पनि सुविधामा कमी छैन’
कारागार प्रशासक ईश्वर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कारागारको क्षमताभन्दा बढी बन्दी रहेको अवस्थाबारे पनि उल्लेख गरिएको छ।

कुल २५० जना बन्दी राख्ने क्षमता भएकोमा हाल ६४० जना बन्दी रहेका छन्, जुन क्षमताभन्दा तीन गुणा बढी हो। यस्तो अवस्थामा पनि उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी कानुनबमोजिमका सेवा-सुविधा समयमै उपलब्ध गराउँदै आएको विज्ञप्तिमा दाबी गरिएको छ।

कारागारले भौतिक संरचना र क्षमताअनुसार सबै बन्दीहरूलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तसँग भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कारागार ऐन, २०१९ तथा कारागार नियमावली, २०२० बमोजिम अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधा समेत उपलब्ध गराउने गरिएको छ। थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुन बमोजिमका सकारात्मक विभेद बाहेक बन्दीहरूको बिचमा अन्य विभेद गरिएको छैन।’

कारागार प्रशासनले समय-समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने, बन्दीहरूका गुनासो सुन्ने र स्रोत साधनले भ्याएसम्म सम्बोधन गर्ने कार्य गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

साउन २९, २०८२ बिहीबार १३:५१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।