‘हारेको केही समयपछि कोरेनले मेरो हात समातेर माफी माग्दै मेरो बुवा पनि नेपाली हो भन्यो’

‘हारेको केही समयपछि कोरेनले मेरो हात समातेर माफी माग्दै मेरो बुवा पनि नेपाली हो भन्यो’

एजेन्सी : चर्चित एमएमए खेलाडी रवीन्द्र ढाँटले भारतीय एमएमए खेलाडी चुङरेनङ कोरेनले आफूसँग माफी मागेको खुलासा गरेका छन्।

सुषान्त प्रधानको पोडकास्टमा बोल्दै ढाँटले एसिया प्रशान्त क्षेत्रका वरीयता प्राप्त खेलाडी कोरेनसँगको एमएफएन १७ को प्रतिस्पर्धापछिको घटना सुनाएका हुन्।

ढाँटले पोडकास्टमा भने, ‘जब मैले फाइटमा कोरेनलाई पराजित गरेँ। त्यसपछि खेलमा यस्तै हो भन्न उ भएको ठाउँमा गएको थिएँ। त्यही बेला उनले मेरो हात समातेर मेरो कानमा बिस्तारै भने- मलाई माफ गरिदेउ। मेरो बारेमा मिडियामा केही नबोल। मेरो बुवा पनि नेपाली हो।’

यो अप्रत्याशित क्षणले आफूलाई स्तब्ध बनाएको ढाँटले बताए। सोही कुराकानीको क्रममा रवीन्द्रले आफ्नो एक चर्चित ‘सेलिब्रेसन’ प्रति पछुतोसमेत व्यक्त गरेका छन्।

उनले कोरेनसँगको खेल जितेपछि गरेको ‘बच्चा जस्तो’ सेलिब्रेसनप्रति अहिले फर्केर हेर्दा अपरिपक्वता महसुस हुने स्वीकार गरे।

उनले थपे, ‘त्यतिबेला जोशमा गरियो, तर पछि उसले मेरो बुवा पनि नेपाली हुँ भन्दा बेकार गरेछु भन्ने लाग्यो।’

खेलअघि कोरेनले रवीन्द्रलाई ‘त्यो त बच्चा हो’ भन्दै कमजोर आँकेका थिए। तर त्यही ‘कमजोर’ रवीन्द्रसँग कोरेन तेस्रो राउन्डमै नकआउट भए।

साउन २९, २०८२ बिहीबार १३:१९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।