सट्टेबाजी एपको प्रचार गरेपछि पूर्व भारतीय क्रिकेट सुरेश रैनासँग ईडीको सोधपुछ, सम्पत्ति शुद्धिकरणको मुद्दा

एजेन्सी : पूर्व भारतीय क्रिकेटर सुरेश रैनासँग अनलाइन सट्टेबाजी एपसँग सम्बन्धित एक मुद्दामा प्रवर्तन निदेशालय(ईडी)ले सोधपुछ गरेको छ। रैनासँग दिल्लीस्थित ईडीको मुख्यालयमा सोधपुछ गरिएको हो।
उनलाई अनलाइन सट्टेबाजी एप वानएक्सबेटको प्रचार गरेको विषयमा सोधपुछका लागि बोलाइएको हो। उनी उक्त एपका ब्रान्ड एम्बेसडर हुन्। ईडीले यस मामिलामा सम्पत्ति शुद्धीकरणको कोणबाट अनुसन्धान गरिरहेको छ।
यस प्रकरणमा सोधपुछ गरिएका रैना एकमात्र चर्चित अनुहार होइनन्। उनीबाहेक अन्य कयौँ क्रिकेटर र बलिउड हस्तीहरू पनि अनुसन्धानको दायरामा रहेको बताइएको छ।
सुरेश रैनाले अगस्ट २०२० मा महेन्द्र सिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। उनी सन् २००७ को टी-२० विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप विजेता भारतीय टोलीका एक महत्वपूर्ण सदस्य थिए।
आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले भारतका लागि १८ टेस्ट, २२६ एकदिवसीय र ७८ टी-२० खेल खेल्दै कुल ८,००० भन्दा बढी रन बनाएका छन्। उनले सन् २००५ मा श्रीलंकाविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।
साउन २९, २०८२ बिहीबार १२:२८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।