डिजिटल नेपाल निर्माणमा जुट्न सभापति देउवाको आह्वान, प्रविधिको दुरुपयोगप्रति सचेत रहन आग्रह

डिजिटल नेपाल निर्माणमा जुट्न सभापति देउवाको आह्वान, प्रविधिको दुरुपयोगप्रति सचेत रहन आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रविधिको सकारात्मक प्रयोगमार्फत ‘प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल’ निर्माणको अभियानमा जुट्न सबैलाई आह्वान गरेका छन्। उनले डिजिटल प्लेटफर्मका फाइदा अनेक भए पनि यसका नकारात्मक असर र जोखिमप्रति सचेत रहनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले आजको युग विज्ञान र प्रविधिको भएको उल्लेख गर्दै डिजिटल प्लेटफर्महरूले शिक्षा, स्वास्थ्य, बैंकिङदेखि सरकारी सेवासम्ममा पुर्याएको सहजताको प्रशंसा गर्नुभयो।

‘सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलेको छ,’ देउवाले भने, ‘घर-घरमा इन्टरनेट, मोबाइल बैंकिङ र डिजिटल शिक्षाजस्ता प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल बनाउँदै लगेको छ।’

नेपाली कांग्रेस नेतृत्वको सरकारले विगतमा ल्याएका दूरसञ्चार नीतिहरूले नै आज देशका दूरदराजका नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको स्मरण गर्दै उनले प्रविधिको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताए।

सभापति देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा रहेको स्पष्ट पारे।

उनले भने, ‘हामी डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न र विशेष गरी युवा, उद्यमी र किसानको सृजनशीलता प्रवर्द्धन गर्न उपयोग गर्ने पक्षमा छौँ।’

डिजिटल प्लेटफर्मका सकारात्मक पक्षसँगै यसले निम्त्याएका असुरक्षाका घटनाप्रति पनि उनले चिन्ता व्यक्त गरे।

‘डिजिटल प्लेटफर्ममा नागरिक असुरक्षित हुने समस्या देखिएका छन्। यसको समाधानका लागि सरकार र सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक छ’, देउवाले भने।

उनले यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमले प्रविधिको सुरक्षित प्रयोगबारे सचेतना जगाउन र ठोस नीति निर्माणमा मार्गदर्शन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रम आयोजना गरेकोमा देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्मा र सम्पूर्ण सहभागीलाई धन्यवाद दिए।

साउन २९, २०८२ बिहीबार ११:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।