‘गाईजात्रा महोत्सव’मा बालमनोविज्ञानको व्यङ्ग्य

काठमाडौं : राष्ट्रिय नाचघरमा चलिरहेको ‘गाईजात्रा महोत्सव २०८२’ मा नेपालकी कान्छी स्ट्यान्ड-अप कमेडियन सुयशा खनाल बाल मनोविज्ञानलाई मुख्य विषय बनाएर अभिभावकहरूलाई व्यङ्ग्यात्मक तरिकाले घचघच्याएकी छिन्।
साउन ३१ गतेसम्म चल्ने यस महोत्सवमा सुयशाको ‘अभिभावक र बालबालिका’ शीर्षकको प्रस्तुतिलाई दर्शकले रुचाएका छन्।
हाँस्य र व्यङ्ग्यले भरिपूर्ण उनको प्रस्तुतिमा अभिभावकले आफ्ना बच्चालाई अरु बच्चासँग तुलना गर्ने बानी, सानैदेखि डाक्टर वा इन्जिनियर बन्नैपर्छ भनेर दिने अनावश्यक दबाब जस्ता गम्भीर विषयलाई रमाइलो शैलीमा उठाइएको छ।
सुयशाले आफ्नो प्रस्तुतिमा पछिल्लो समय चर्चामा आएका सचिन परियारको प्रसङ्गलाई पनि जोडेकी छिन्। बच्चालाई प्रयोग गरेर डलर कमाउने प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै उनले हामी आफैँ गलत गरेर बच्चालाई सही बाटोमा हिँड्न सिकाउन नसकिरहेको यथार्थलाई पनि उजागर गरेकी छिन्।
गत वर्षको गाईजात्रामा पनि सहभागी भएकी सुयशाले आफ्नो कलालाई निरन्तर परिष्कृत गर्दै लगेकी छिन्। उनी १२ वर्षको कलिलो उमेरमा ‘कमेडी च्याम्पियन सिजन ३’को सेकेन्ड रनर अप बन्न सफल भएकी प्रतिभा हुन्।
सुयशाले आठ वर्षको उमेरदेखि नै स्ट्यान्ड-अप कमेडी गर्न थालेकी हुन्।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) द्वारा आयोजित ‘गाईजात्रा महोत्सव २०८२’मा सुयशाका साथै अन्य चर्चित हास्य कलाकारहरूको पनि प्रस्तुति रहेको छ।
गाईजात्राम सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले कवितामार्फत व्यङ्ग्य प्रस्तुत गरिरहेका छन् भने भरतमणि पौडेल र सुमन कोइराला ‘घरबेटी र डेरावाल’ को भूमिकाले दर्शकबाट वाहवाही बटुलिरहेको छ।
यसैगरी, दिनेश काफ्ले ‘हाउडे दाइ’ र खड्गबहादुर पुन ‘खबपु’ले ‘अलपत्र’, हिमेश पन्त र सुजिता श्रेष्ठले ‘नर्क’ तथा विकास अर्याल र सरोज भण्डारीले ‘किसमिसको हमला’ तथा गाईजात्रामा सुरेन्द्र केसी ‘मुला साग’ र शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले ‘प्राइभेट प्रहरी चौकी’ शीर्षकमा प्रहसन प्रस्तुत गरिरहेका छन्।
राजा राजेन्द्र पोख्रेलको उद्घोषण गाईजात्रामा सन्तोष थापा र कैलाश कार्कीको ‘माइतीघर’ तथा संस्थानकै अन्य कलाकारहरूले पनि आफ्ना प्रस्तुति दिइरहेका छन्।
संस्थानको जमलस्थित मेगा प्रेक्षालयमा हरेक दिन साँझ ५ बजे र शुक्रबार तथा शनिबार बेलुका ४ बजे कार्यक्रम प्रदर्शन भइरहेको छ। महोत्सवको टिकट संस्थानको कार्यालयबाट भौतिक रूपमा वा ईसेवा तथा संस्थानको आधिकारिक वेबसाइटमार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
सामाजिक सुरक्षा कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्यमा आयोजित यस महोत्सवको फुड पार्टनरका रूपमा ‘मौलिक भान्छाघर’ रहेको छ, जहाँ सातै प्रदेशका रैथाने परिकारको स्वाद लिन सकिन्छ।
साउन २९, २०८२ बिहीबार ११:१६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।