‘के शारीरिक पुष्टता मात्रै विवाहको उमेरको मापक हो?’

‘के शारीरिक पुष्टता मात्रै विवाहको उमेरको मापक हो?’

काठमाडौं : एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले राज्य प्रतिगमनको बाटोमा लागेको भन्दै महिला अधिकार खोस्ने षड्यन्त्र भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नागरिकताको बहानामा बहुविवाहलाई वैधता दिने र विवाहको उमेर घटाउने जस्ता प्रयासले पितृसत्तात्मक सोचलाई बलियो बनाइरहेको बताइन्।

सांसद शाहले लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिका लागि गरिएका त्याग, तपस्या र बलिदानको स्मरण गर्दै हाल राज्यको दिशा देखेर दुःख लागेको बताइन्।

उनले भनिन्, ‘लोकतन्त्र ल्यायौँ। गणतन्त्र ल्यायौँ। संविधान लेख्यौँ। संविधानमा समानताको हक, महिलाको हकलाई मौलिक हकको रुपमा राख्यौँ तर राज्य प्रगतिको पथमा भन्दा पछाडि फर्किरहेको देख्दा धेरै दुःख लाग्छ। के हामीले त्यो त्याग, तपस्या, बलिदान र दुःख यसैका लागि गरेका थियौँ?’

पितृसत्तात्मक चिन्तन पुनः बलियो भएर फर्किरहेकोमा चिन्ता व्यक्त गर्दै उनले बालबालिकाले नागरिकता नपाएको तर्क दिएर बहुविवाहलाई कानुनी मान्यता दिने कोसिस भइरहेको बताइन्।

उनले प्रश्न गरिन्, ‘आजको दिनमा महिलालाई अधिकार बढी भयो भन्ने पितृसत्तात्मक चिन्तन पुनः बलियो भएर फर्किरहेको देख्छु। अब एउटा पुरुषले पाँच जना महिलासँग सम्बन्ध राखेर बच्चा जन्माउने अनि त्यसलाई नागरिकता दिने नाममा के पाँचै जनासँग उसले विवाह गर्न पाउने? हाम्रो राज्य यतातिर फर्कने?’

त्यसैगरी, विवाह गर्ने उमेर घटाउने गरी कानुन बनाउन खोजिएको भन्दै उनले त्यसको पनि कडा आलोचना गरिन्।

‘आजकालका बच्चाको खानपान राम्रो भयो, हर्लक्क बढेका छन् भन्दै विवाहको उमेर घटाउन खोजिँदैछ। के शारीरिक पुष्टता मात्रै विवाहको उमेरको मापक हो?’, शाहले प्रश्न गरिन्।

देशमा महिला हिंसाका घटना बढिरहेको सन्दर्भमा सांसद शाहले हालै दैलेखमा भएको एक अमानवीय घटनाको भर्त्सना गरिन्।

‘दैलेखमा विपन्न दलित परिवारकी १३ वर्षीया बालिकालाई लखेटी-लखेटी ढुंगाले हानेर घाइते बनाई सामूहिक बलात्कार गर्ने निच कुकृत्य भएको छ,’ उनले भनिन्, ‘म यो घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्न चाहन्छु।’

साउन २९, २०८२ बिहीबार १०:५३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।