भेटको २४ घण्टाअघि पुटिनलाई ट्रम्पको चेतावनी- युक्रेनसँगको युद्ध नरोके गम्भीर परिणाम भोग्नुपर्छ

भेटको २४ घण्टाअघि पुटिनलाई ट्रम्पको चेतावनी- युक्रेनसँगको युद्ध नरोके गम्भीर परिणाम भोग्नुपर्छ

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध अन्त्य नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

बुधबार आयोजित एक प्रेस ब्रिफिङमा उनले शुक्रबारको वार्तापछि पनि पुटिन युद्ध रोक्न सहमत नभए कडा कदम चालिने बताए। ट्रम्प र पुटिनबीच शुक्रबार अलास्कामा भेटवार्ता हुने कार्यक्रम छ।

युक्रेनमा दुई वर्षभन्दा बढी समयदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले यो भेट हुन लागेको हो। यो अमेरिकी भूमिमा ट्रम्प र पुटिनबीचको पहिलो भेट हुनेछ। यसअघि रुसले भेटघाटका लागि युएईको नाम प्रस्ताव गरे पनि ट्रम्पले अलास्का रोजेको बताइएको छ।

पुटिनसँगको भेटअघि ट्रम्पले बुधबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भर्चुअल बैठक गरेका छन्।

बैठकमा ट्रम्पले युद्ध अन्त्यका लागि दुवै पक्षले जमिन साटासाट गर्नुपर्ने विकल्पबारे छलफल गरेको बताइएको छ। तर, युरोपेली नेताहरूले भने ट्रम्पलाई युक्रेनलाई हानि पुग्ने कुनै पनि सम्झौता नगर्न आग्रह गरेका छन्।

भर्चुअल बैठकमा फिनल्यान्ड, फ्रान्स, बेलायत, इटाली, पोल्यान्ड, युरोपेली संघका नेताहरू र नेटो महासचिव जेन्स स्टोल्टेनबर्ग पनि सहभागी थिए।

जेलेन्स्कीको अडान- ‘भूभाग छाड्ने अधिकार मसँग छैन’
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सहमतिबिना उसको भूमिको बारेमा कुनै पनि निर्णय हुन नसक्ने स्पष्ट पारेका छन्।

‘मेरो अडान परिवर्तन हुने छैन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘आफ्नो देशको भूमि त्याग्ने अधिकार मसँग छैन।’

उनले थपे, ‘पहिले युद्धविराम हुनुपर्छ, त्यसपछि बलियो सुरक्षा ग्यारेन्टी आवश्यक छ। युरोप वा नेटोमा सामेल हुने युक्रेनको अधिकारमाथि रुसले भिटो प्रयोग गर्न पाउँदैन।’

जेलेन्स्कीले पुटिन शान्ति नभई युक्रेन कब्जा गर्न चाहेको र उनले पश्चिमा प्रतिबन्धको कुनै असर नपरेको जस्तो देखाएर सबैलाई मूर्ख बनाउन खोजेको आरोप लगाए।

युरोप र युक्रेनमा ट्रम्प र पुटिनबीच यस्तो गोप्य सम्झौता हुन सक्ने डर छ, जसअनुसार रुसले युक्रेनको करिब २० प्रतिशत (पाँचौं भाग) भूभाग प्राप्त गर्न सक्छ। यही चिन्ताका बीच युरोपेली नेताहरूले ट्रम्पलाई युक्रेनको सार्वभौमिकतामा सम्झौता नगर्न दबाब दिइरहेका छन्।

साउन २९, २०८२ बिहीबार १०:२०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।