६८ लागे जोनी  : जड्याहा बुवाबाट दिक्क भएर ज्यान फाल्न रेलको लिकसम्मै पुगे, छोरा बिरामी भएपछि आफ्नै रक्सीको लत छुट्यो

६८ लागे जोनी  : जड्याहा बुवाबाट दिक्क भएर ज्यान फाल्न रेलको लिकसम्मै पुगे, छोरा बिरामी भएपछि आफ्नै रक्सीको लत छुट्यो

एजेन्सी : हाँसोका बादशाह, कमेडीका जादुगर तथा करोडौं अनुहारमा मुस्कान ल्याउने जोनी लिभरको आज जन्मदिन हो।

हिन्दी सिनेमाका सबैभन्दा सफल र लोकप्रिय कमेडियनमध्ये एक मानिने जोनीले आफ्नो करियरमा ३५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। आज उनको जन्मदिनको विशेष अवसरमा, उनको जीवनका केही रोचक, संघर्षपूर्ण र प्रेरणादायी पाटालाई नजिकबाट नियालौँ।

जोनीको जन्म एक तेलुगू क्रिश्चियन परिवारमा भएको थियो। उनका बुबा हिन्दुस्तान युनिलिभर कम्पनीमा अपरेटर थिए। परिवारमा उनीसहित तीन बहिनी र दुई भाइ छन्। उनका कान्छा भाइ जिमी मोसेस पनि एक अभिनेता र स्ट्यान्ड-अप कमेडियन हुन्, जसले ‘चेन्नई एक्सप्रेस’ जस्ता फिल्ममा काम गरेका छन्।

जोनीको बाल्यकाल मुम्बईको माटुङ्गा र धारावीको साँघुरो गल्लीमा बित्यो। आर्थिक अवस्था कमजोर भएका कारण उनले ६-७ कक्षापछि पढाइ छाड्नुपर्यो। सानै उमेरमा उनले सडकमा पेन बेच्नेदेखि रेलमा सुन्तला बेच्नेसम्मका काम गरे।

एक अन्तर्वार्तामा उनले बताएअनुसार, बुबाको मदिरापान र घरेलु हिंसाबाट दिक्क भएर उनले एकपटक आत्महत्या गर्ने निर्णयसमेत गरेका थिए। १३ वर्षको उमेरमा उनी एउटा रेलको लिकमा गएर बसेका थिए।

तर, जब रेल नजिक आइरहेको थियो, उनको आँखाअगाडि आफ्ना तीन बहिनीको अनुहार आयो, जसले उनलाई सोधिरहेको थियो- ‘हाम्रो के होला?’ यो सोच्नेबित्तिकै उनी तुरुन्तै लिकबाट हटे।

जोनीले आफ्नो बाल्यकालको तीतो यथार्थबारे भन्दै धारावीमा हत्याजस्ता घटना सामान्य भएको र सात वर्षको उमेरमा पहिलोपटक लास देखेको बताएका थिए। उनले आफू कलाकार नबनेको भए सायद ‘गुन्डा’ बन्ने थिएँ भनी स्वीकारेका छन्।

मिमिक्रीदेखि ‘जोनी लिभर’ नामसम्म
१२ वर्षको उमेरदेखि नै जोनी स्टेजमा नृत्य र मिमिक्री गर्न थालेका थिए। उनी महमूद, जोनी वाकर र किशोर कुमारको नक्कल गर्न माहिर थिए। पेन बेच्दा पनि उनी कलाकारहरूको आवाज निकालेर ग्राहकलाई आकर्षित गर्थे।

१८ वर्षको उमेरमा उनले बुबाले काम गर्ने हिन्दुस्तान युनिलिभर कम्पनीमा मजदुरको रूपमा काम पाए। त्यहाँ काम गर्दा उनले एक कार्यक्रममा कम्पनीका हाकिमहरूको मिमिक्री गरे। उनको प्रस्तुतिबाट प्रभावित भएर सहकर्मीहरूले उनलाई ‘जोनी लिभर’ भन्न थाले र पछि यही नाम उनको पहिचान बन्यो।

दिनमा जागिर र रातमा स्टेज शो गर्दै संघर्ष गरिरहेका जोनीलाई एक कार्यक्रममा अभिनेता सुनिल दत्तले देखे। उनको प्रतिभाबाट प्रभावित भएर दत्तले उनलाई आफ्नो फिल्म ‘दर्द का रिश्ता’ (१९८२) मा पहिलो मौका दिए।

त्यसपछि उनले ‘हँसी के हँगामे’ नामक अडियो क्यासेट निकाले, जसले उनलाई घर-घरमा चिनायो। १९८६ मा ‘होप ८६’ नामक च्यारिटी शोमा उनको प्रस्तुतिले उनलाई फिल्म 'जलवा' दिलायो।

१९९० को दशकमा शाहरुख खानको फिल्म ‘बाजीगर’मा उनको भूमिकाले उनलाई ठूलो पहिचान दिलायो। त्यसपछि उनले ‘छोटा छत्री’, ‘असलम भाइ’ र ‘बबलु’ जस्ता यादगार चरित्रहरू निभाए।

छोराको बिमारीले बदलिएको जिन्दगी
जोनीको जीवनको सबैभन्दा कठिन समय तब आयो, जब उनका १० वर्षीय छोरा जेसीको घाँटीमा ट्युमर पत्ता लाग्यो। डाक्टरहरूले शल्यक्रिया जोखिमपूर्ण हुने र छोरा अन्धो वा पक्षाघात हुनसक्ने बताएका थिए।

यसैबीच, अमेरिकाको एक चर्चमा एक पादरीको सल्लाहमा उनले छोराको शल्यक्रिया गराउने निर्णय गरे। चमत्कारिक रूपमा शल्यक्रिया सफल भयो र जेसी पूर्ण रूपमा निको भए। यो घटनाले जोनीको जीवनलाई पूर्ण रूपमा बदलिदियो। उनले रक्सीलगायत आफ्ना सबै खराब बानीहरू त्यागे र आध्यात्मिक मार्ग अपनाए।

जोनी आफ्नो कामप्रति कति समर्पित छन् भन्ने कुरा एउटा घटनाले देखाउँछ। एकपटक उनकी बहिनीको निधन भयो। घरमा सबै रोइरहेका थिए, तर त्यही दिन उनको एउटा शो थियो। भारी मनका साथ उनी स्टेजमा पुगे, दर्शकलाई हँसाए र शो सकिएपछि पैसासमेत नलिई सिधै घर फर्किए।

एक समय थियो जब जोनी लिभरबिना फिल्महरू अधुरो मानिन्थ्यो। तर, पछि उनको करियरमा ओरालो लाग्यो र आर्थिक संकट यति बढ्यो कि उनी आफ्नो घर बेच्ने सोचमा पुगेका थिए। उनले कमाएको धेरैजसो पैसा दान र परोपकारमा खर्च गर्थे।

पछिल्ला वर्षहरूमा उनी ‘गोलमाल’ र ‘हाउसफुल’ सिरिज, ‘दिलवाले’, ‘टोटल धमाल’ र ‘सर्कस’ जस्ता फिल्महरूमा देखिएका छन्। अब उनी चाँडै नै ‘वेलकम टु द जङ्गल’ मा देखिनेछन्।

साउन २९, २०८२ बिहीबार ०८:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।