सचिन तेन्दुलकरका छोरा अर्जुनको इन्गेजमेन्ट, को हुन् सान्या चन्दोक?

सचिन तेन्दुलकरका छोरा अर्जुनको इन्गेजमेन्ट, को हुन् सान्या चन्दोक?
चार जनामध्ये तस्बिरको बीचमा देखिएका दुई जना अर्जुन र सान्या हुन्।

एजेन्सी : भारतीय क्रिकेटका महानायक सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरको सान्या चन्दोकसँग मुम्बईमा इन्गेजमेन्ट भएको छ। बुधबार आयोजित एक निजी समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको हो।

सान्या मुम्बईका चर्चित व्यापारी रवि घईकी नातिनी हुन्। इन्गेजमेन्ट कार्यक्रम अत्यन्तै निजी थियो, जसमा दुवै परिवारका सदस्यहरू मात्र सहभागी थिए। यद्यपि, मिडिया रिपोर्टका अनुसार तेन्दुलकर र घई परिवारले अहिलेसम्म यसबारे आधिकारिक पुष्टि गरेका छैनन्।

को हुन् सान्या र उनको परिवार?
एक प्रतिष्ठित व्यापारिक परिवारसँग सम्बन्धित भए पनि सान्या चर्चाबाट टाढा रहन रुचाउँछिन्। उनी मुम्बईमा रहेको ‘मि. पज पेट स्पा एन्ड स्टोर एलएलपी’ की पार्टनर र निर्देशक हुन्।

घई परिवार हस्पिटालिटी र खाद्य उद्योगमा एक स्थापित नाम हो। उनीहरूको ‘इन्टरकन्टिनेन्टल होटल्स ग्रुप’ छ, जसको अन्तर्राष्ट्रिय बजार मूल्य १८.४३ अर्ब डलर छ।

मुम्बईमा पनि उनीहरूको इन्टरकन्टिनेन्टल होटल सञ्चालनमा छ। यसका साथै, चर्चित आइसक्रिम ब्रान्ड ‘ब्रुकलिन क्रिमरी’ पनि यही परिवारको स्वामित्वमा छ।

रवि घईका बुबा इकबाल किशन घईले भारतमा गुणस्तरीय आइसक्रिम ब्रान्ड भित्र्याएका थिए र मुम्बईको मरिन ड्राइभमा इन्टरकन्टिनेन्टल होटल निर्माण गराएका थिए।

अर्जुनको क्रिकेट करियर
अर्जुन एक फास्ट बलिङ अलराउन्डर हुन्। उनले घरेलु क्रिकेटमा गोवाको प्रतिनिधित्व गर्छन् भने इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सबाट खेल्छन्।

अर्जुनले सन् २०१८ मा श्रीलंकाविरुद्ध भारतको यु-१९ टोलीबाट डेब्यु गरेका थिए। उनले मुम्बईका लागि यु-१६, यु-१९ र यु-२३ टोलीबाट पनि खेलेका छन्।

सन् २०२१ मा मुम्बई इन्डियन्सले उनलाई टोलीमा अनुबन्ध गरेको थियो, तर उनले २०२३ मा मात्रै डेब्यु गर्ने मौका पाए। घरेलु क्रिकेटमा गोवाबाट खेल्न थालेपछि उनले आफ्नो पहिलो प्रथम श्रेणी खेलमै शतक बनाएर चर्चामा आएका थिए।

साउन २९, २०८२ बिहीबार ०८:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।