देशका पश्चिमी भेगमा मनसुन सक्रिय, सतर्क रहन आग्रह

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी भू-भागको तुलनामा पश्चिमी भेगमा मनसुन बढी सक्रिय हुने जनाएको छ। मनसुनको न्यून चापीय रेखा तराई नजिकै रहेकाले पश्चिमी क्षेत्रमा यसको प्रभाव बढी देखिएको हो।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा मौसम आंशिक बदली हुनेछ। गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका कारण निम्त्याउन सक्ने जोखिमप्रति सबैलाई सचेत रहन अनुरोध गरेको छ। पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम छ भने साना तथा ठूला नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने देखिएको छ।
यी सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
साउन २९, २०८२ बिहीबार ०७:२२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।