डा. रामेशको ट्वीट व्यङ्ग्यमा जेलिएका आरजु र शेरबहादुर

मुटुका सर्जन भए पनि डा.रामेश कोइराला केवल चिकित्सकको घेरामा मात्र सीमित थिएनन्। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको अप्रेसन थिएटरमा जसरी उनका हात बिरामी मुटु ठिक पार्न औजारहरूमा चले, उसैगरी अप्रेसन थिएटर बाहिर पनि उनको हात सामाजिक मुद्दाको चिरफारमा चलि नै रहे।
इन्जिनियर बन्न चाहँदा संयोगले चिकित्सक भएको बताउने उनको हात जसरी अप्रेसन थिएटरभित्र अनगिन्ती रोगी मुटुलाई स्वस्थ पार्न सक्रिय भइरहन्थ्यो, थिएटर बाहिर समाज, राजनीति र पाखण्डीपनको अप्रेसनमा उसैगरी चलिरह्यो। कहिले न्युज पोर्टलमा लामा लेखमार्फत, कहिले आफ्नै ब्लगमा त कहिले माइक्रो ब्लगिङ सामाजिक सञ्जाल एक्समा।
सामान्यतया उनी जुन पेशामा छन्, त्यसका सदस्यभन्दा फरक छ उनको स्वभाव। मन नपरे व्यङ्ग्यवाण हान्न, महत्त्वपूर्ण सामाजिक मुद्दामा बहस चलाउन उनी सक्रिय भइरहन्छन् (अहिले अलि पातलिएको छ यो क्रम)।
“सधैँ ‘कम्फर्ट जोन’मा बसेर बोल्न हच्किने हो भने लोकतन्त्र खतरामा पर्छ”, उनले हिमालखबरमा यसै भनेका छन् आफ्नो स्वभावबारे। यही स्वभावले होला एक्सका उनका शब्दहरू प्राय भाइरल भइरहे।
गगन थापा स्वास्थमन्त्री हुँदा असल मनसायले पारिश्रमिक नलिई स्वास्थ्य नीति बनाउन सल्लाहकारको रूपमा सघाए बापत एक समूहले ‘चारतारे’को आरोप लगाइरहे पनि मस्त मौलाना पारामा व्यङ्ग्यबाटै जवाफ दिइरहन्थे उनी।
सञ्जालमा लेख्ने उनका विषय न पार्टी प्रधान देखिए न व्यक्ति प्रधान। कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा, नयाँ, पुराना कमै जोगिएका छन् उनका व्यङ्ग्यबाट।
उनले चीन-नेपालको विद्युतीय रेलको बारेमा लेख्दा ‘रातारात चीनबाट नेपालमा रेल आउँछ’ भनेर नक्कली सपना देखाउन सक्रिय केपी ओली समूह भयङ्कर रिसाएकै हुन्। अन्तमा नतिजा त देखियो नै!
वैकल्पिक शक्ति भनेर राजनीतिको प्रारम्भ नै जालझेलबाट सुरू गरेका रवीन्द्र मिश्र अनि रवि लामिछानेबारे लेख्दा उसैगरि गाली पाए। तर, उनी आलोचनाले डराइहाल्ने स्वभावका थिएनन्। भिडिरहे। व्यङ्ग्य कसिरहे।
आफ्नै पेशागत क्षेत्रको विकृतिबारे पनि उनी मौन बस्दैनथे। नेपाल चिकित्सक सङ्घले अदालतको फैसलाको विरुद्धमा अस्पताल बन्द गर्दा अधिकांश चिकित्सक समर्थनमै उत्रिए। तर उनी विपक्षमा उभिँदै न्यायालयको फैसलाको विकल्प सडकमा हैन न्यायालयमै खोज्नुपर्ने बताएका थिए।
उनले एक्समा लेखेका थिए, ‘अदालतको फैसलामा चित्त नबुझे पुनरावेदन गर्ने हो, गलत भएमा ऐन नै संशोधन गराउन विधायक र सरकारलाई दबाब दिने हो, न्यायालयविरुद्ध जाने हैन। मेरालागि हस्ताक्षर र हड्ताल दुवै गलत हुन्। म मेरो पेशागत संस्था कमसेकम बस व्यवसायी सङ्घभन्दा ‘राम्रो’ र मनमा ‘हरि’ भएको होस् भन्ने चाहन्छु।’
डा गोविन्द केसीको सत्याग्रहको पक्षमा मजाले उभिएकै थिए। तर, अनावश्यक मागमा पनि केसीले आन्दोलन घोषणा गर्दा विपक्षमा पनि लेखिहाल्थे।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छवि टल्काउन उनको सचिवालयले सामाजिक सञ्जालमा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने… भन्ने ट्यागलाइनमा भिडियोहरू बनाएर सामाजिक सञ्जालमा राख्न थाले। सकारात्मक माहौल बनाउन बनाएको भिडियो उल्टो ट्रोल बन्न थाले।
यस्तोमा डा. रामेशको चञ्चले मन के थामिन्थ्यो। उनले व्यङ्ग्यात्मक शैलीमा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने’ भन्ने भिडियो व्यङ्ग्यात्मक शैलीमा बनाएर ट्विट गरिहाले। जसमा भनेका थिए:
‘रामनाथ गुरुको छोरा वीरेसँग जयश्रीराम फिल्म हेर्दाहेर्दै निदाएपछि सपनामा हनुमान आए। उनले श्रीरामजीको अर्को अवतारमा तेरै देशमा पुनर्जन्म भइसकेको भन्दै फोटो देखाएर अब तिमीहरूको दुखका दिन गए भने। काठमाडौंमा आउँदा हनुमानले जे देखाएको मोटो चस्मा लगाएको, त्यस्तै अनुहार देखेँ। भगवान् रामजीको उदय ठोरीमा हैन यो देशको डडेलधुरामा भएको रहेछ। जय श्रीराम, जय हनुमान।’
देउवालाई रिझाउन खोज्नेहरूले अन्टसन्ट भिडियो बनाएर उल्टो डुबाउने काम गरिरहेका छन् भनेर व्यङ्ग्य कसेको उनको यो भिडियो भाइरल हुने नै भयो। भयो पनि।
०००
चिकित्सकको रूपमा उनले आफूलाई प्रमाणित गरिसकेका थिए। गङ्गालालको सुधारमा खटिएका उनका लागि त्यो चिकित्सालय यति प्रिय थियो कि उनी आफ्नो आलोचना पचाउँथे तर गङ्गालालबारेको नकारात्मक टिप्पणी सह्य हुँदैनथ्यो। निर्देशक नियुक्तिको चलखेलबारेका समाचारमा उनी मौन रहन्थे। तर, सेवा प्रवाह र गङ्गालालले मुटुको उपचारमा पुर्याएको योगदानबारेको आलोचनामा प्रतिवाद गरिहाल्थे।
अप्रेसन थिएटर बाहिर उनका हातले ‘आमाको मुटु’, ‘कोपिला आश्रम’ अनि कुख्यात सिरियल किलर चाल्स शोभराजबारे ‘इनसाइड द हर्ट अफ बिकिनी किलर’ लेखे। संयोग, मेरो पुस्तक ‘ओपन सेक्रेट : मिर्जा-जमिमदेखि फैजान हत्याकाण्डसम्मका नालीबेली’ र उनको पुस्तकका प्रकाशक एकै। त्यही संयोगले उनीसँगको परिचय चिकित्सकको रूपमा नभई पुस्तक लेखकको रूपमा भएको थियो।
उकेरामा गङ्गालालबारे अनि केही चिकित्सकबारे लेखेको समाचारमा सञ्जालमै उनको राम्रै झटारो भेटेकै छु। भाइ भनेर छाड्ने स्वभावका कहाँ हुन् र! कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको नागरिकताबारे प्रमाणसहित समाचार लेखे पनि उनलाई कहिल्यै चित्त बुझेन।
एक महिना अगाडिको भेटमा पनि ‘यो मधेसी र पहाडीलाई हेर्ने शासकको दृष्टिदोष हो’ भनेर प्रतिवाद गरिरहेकै थिए। तर, उनीसँग भेट्दा रमाइलो लाग्छ, मनका सफा जो छन्। त्यसैले त उनी सार्वजनिक रूपमै भनिदिन्छन् “गङ्गालालको गेटबाट निस्किएपछि म डाक्टर हैन।”
०००
गङ्गालालमा काम गर्दा अनि चिकित्सा क्षेत्रबारे जे जति देखे-भोगे कुनै प्रतिष्ठानको नेतृत्व गर्न पाए समाधान सम्भव छ भन्ने देखाउन चाहना बढेछ उनमा। सायद गगन स्वास्थ्यमन्त्री हुँदा नीति निर्माणमा काम गरेको अनुभवले पनि आत्मबल बढायो कि उनको! अनौपचारिक भेटघाटमा पनि उनी भनिरहन्थे, ‘यो देशमा गर्न चाहे सकिन्छ।’
उनमा उपकुलपति हुने चाह रहेछ भन्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दिएको आवेदनबाट देखियो। कांग्रेससहितको संयुक्त सरकार थियो। १६ जना आवेदकमा आटाएका रामेश उपकुलपतिमा अटाएनन्।
दोस्रो पटक उनले गङ्गालालकै निर्देशक हुन चाहेको समाचार पनि बाहिरियो। तर, त्यसमा पनि उनी सफल भएनन्। राप्तीको उपकुलपति किन हुन सकिएन अनि गङ्गालालको निर्देशक हुन कसले अनि किन रोक्यो भन्ने उनी जानकार नहुने कुरै भएन।
अहिले कांग्रेस-एमालेको संयुक्त सरकारमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल भएकाले हो वा के कारण हो उनले पुन: पोखरा वा वीपीमध्ये एक स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएर नेतृत्व गर्ने रहर गरे। पोखराको सर्ट लिस्टमा पनि अटाएनन्।
वीपीको ६ जनाको सूचीमा अटाएर कुलपति रहेका प्रधानमन्त्रीसम्म पुग्दा दोस्रो सूचीमा नाम त अटायो तर उपकुलपति हुन सकेनन्। उनी ६ आवेदकहरूमा उपकुलपतिका लागि योग्य थिए भन्नेमा शङ्का रहेन। तर, उनको सबैभन्दा ठूलो अयोग्यता देउवा अनि देउवा पत्नी आरजु राणालाई बेलाबखत सामाजिक सञ्जालमा कसिरहने व्यङ्ग्यवाण बनेको थियो।
उनको चिकित्सकीय यात्रामा कतै उपकुलपति भएर चिकित्सा क्षेत्र सुधार गर्ने प्रयासको सबैभन्दा ठूलो फलामे अवरोधक त्यही ट्वीटहरू थिए। जब-जब उनको नियुक्तिको प्रसङ्ग आउँथ्यो, म्याडम देउवा टेबलभरि उनका ट्विटका प्रिन्टकपी फिँजाएर प्रतिवादमा उत्रिहाल्थिन्।
काठमाडौंका मेयर बालेन शाहले ‘सिंहदरबार जलाउँछु भने’ भनेर पक्राउ गर्न राजनीतिक सहमतिका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको बैठकमा ‘सिंहदरबार जलायो त, बोलेर के भयो’ भन्दै प्रतिवाद गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले डा. रामेशको हकमा ‘पदका लागि सक्षम भए भएन? व्यङ्ग्य गरेर के भो त’ भन्न सकेनन्।
अब ओलीले आफ्नो पार्टीको भागमा परेको पोखरामा उनलाई नियुक्त गर्ने त सम्भावनै थिएन। त्यसैले त टपबाटै बाहिरियो उनको नाम। ‘हैन, रामेश चाहिने चिकित्सक हुन्’ भन्ने एमालेमा कसको आँट। पोखरा लिएर वीपी छाडौँ भनेर देउवालाई भन्न गएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हप्की खाइसकेका थिए।
उनको नाम अटाएको त्यही वीपीमा हो। स्वास्थ्यमन्त्री पौडेलले अड्डी कस्दा टप ६ बाट टप ३ मध्ये २ मा उनको नाम परेकै हो। तर, मंगलबार चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कांग्रेस र एमालेको भागबन्डामा उपकुलपति नियुक्तिको समाचार बाहिरिदा डा. रामेशको नाम अटेन।
कांग्रेसको कोटामा पार्टी सभापति देउवाले पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठको साथीको भाइलाई वीपीको उपकुलपति बनाए। ओलीले सदर गरे।
बुधबार विहान एकाएक ‘देश पेशा, जीवन र भूमिका : सब अब फरक’ लेखिएको डा रामेशको पोस्टको स्क्रिनसट सामाजिक सञ्जालमा दौडिन थाल्यो। तस्बिर अमेरिकाको वासिङ्टनको थियो। ‘गरे नेपालमा पनि सम्भव छ’ भन्ने अनि नेताहरूको चयनको आधारबारे जानकार उनी तेस्रो प्रयासमै हतोत्साहित भएर पलायनै भएका हुन् त?
एक परिचितलाई फोन गरेँ ‘उता आइतबारै जानुभएको हो। उतै बस्नुहोला भन्ने त लाग्दैन। तर, चिकित्सक पेशामा फर्कने सम्भावना भने कम छ।’
नभन्दै उनले गङ्गालालमा रहेको पदबाट राजीनामा दिएको पत्र सार्वजनिक भयो। एक्समा उनले लेखेका थिए ‘सायद अब चिकित्सक पेशामा फर्किन्न होला।’
उनलाई खुच्चिङ गर्नेहरू पनि छन्। तर, धेरैले उनी अमेरिका पलायन हुने हुन् कि भन्दै दु:ख मनाउ पनि गरिरहेका छन्।
मुलकुरा शेरबहादुर देउवा वा आरजु लगायतका लागि डा. रामेश यो देशमा हुनु र नहुनुको अर्थ छैन। किनकि उनीहरूको उपचारका लागि न कहिल्यै गंगालाल प्राथमिकतामा पर्यो न वीपीको उपकुलपतिमा रामेश भएका भए पर्ने नै थियो। सामान्य फलोअपका लागि समेत बैंकक र जापान जाने हैसियत छ उनीहरूको। नङमा चोट लागे पनि उतै जान्छन्।
उनीहरूका लागि डा. रामेश नचाहिए पनि गम्भीर उपचारका लागि पारि रक्सौल पनि जान नसक्ने हजारौं नेपाली ‘आमाको मुटु’ जोगाउन डा. रामेश नेपालमै चाहिने चिकित्सक हुन्।
उनले प्रयोग गरेको सायद शब्दले अझै सम्भावना देखाएकै छ। तर, बाँकी त उनको पेशागत चयनको स्वतन्त्रताको कुरा भयो।
साउन २८, २०८२ बुधबार २२:३७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।