नीताले ‘पार्वती’ बनाउने भएपछि दीपाश्री मख्ख

काठमाडौं : १२ वर्षअघि दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्म ‘६ एकान ६’मा नीता ढुङ्गानाले अभिनय गरेकी थिइन्। अहिले, उनै नीताले निर्देशन गर्न लागेको फिल्म ‘पार्वती’मा दीपाश्रीले अभिनय गर्ने भएकी छिन्। ‘पार्वती’ नीताको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म हो।
मंगलबार नीताले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’को मुख्य भूमिकामा दीपाश्रीलाई अनुबन्ध गरेकी हुन्। यो फिल्मको मुख्य पात्र ‘पार्वती’ दीपा हुने नीताको भनाइ छ।
दीपाश्रीसँग फिल्मका लागि मौखिक कुराकानी भइरहेको र मंगलबार कागजी सम्झौता भएको निताले बताइन्। दीपाश्रीलाई फिल्ममा लिएपछि नीता भन्छिन्, ‘मंगलबार फाइनल हुनु भएको छ दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठूलो कुरा हो।’
फिल्ममा अनुबन्ध भएपछि दीपाश्रीले १२ वर्षअघि फिल्म ‘६ एकान ६’मा नीतासँगको सहकार्यलाई सम्झिइन्। ‘आजभन्दा १२ वर्षअघि अर्थात् वि.स. २०७० सालमा ‘६ एकान ६’ मा हामीलाई हेल्प गरेकी थियौँ,’ दीपाले नीताको तारिफ गर्दै भनिन्, ‘१२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई अनुबन्ध गराएकी छ्यौ ‘पार्वती’मा।’
उनले पनि आफुले लिड रोलमा काम गर्न लागेको सुनाइन्। ‘अहिले यो साउनको महिना, शिव-पार्वती जोडिएको महिना र ‘पार्वती’ जस्तो फिल्ममा लिड रोलमा मौका पाएँ। धन्यवाद छ, मलाई सम्झेकोमा,’ उनले भनिन्।
दीपाश्री ‘छक्का पञ्जा’ टिमकी सफल निर्देशक हुन्। फिल्म ‘पार्वती’मा नीता आफैँ पनि अभिनय गर्दैछिन्। अहिलेसम्म यो फिल्मका लागि मुख्य भूमिकामा दीपा र नीता अनुबन्ध भएका छन् भने अन्य कलाकारको टुङ्गो लागेको छैन। यस फिल्मको सहायक निर्देशकका रूपमा डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी अनुबन्ध भएका छन्।
निर्देशक ढुङ्गानाले नै लेखेको यस फिल्मको कथामा पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। फिल्ममा लगानी सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुङ्गानाले गर्नेछन्।
आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मको दुई वटा पोस्टर सार्वजनिक भइसकेका छन् भने प्रदर्शन मिति आगामी माघ १ गतेलाई तोकिएको छ। यस फिल्मको वितरण उपत्यकाभित्र रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले तथा उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछन्।
साउन २८, २०८२ बुधबार २१:१८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।