ट्रम्प-पुटिन वार्ताअघि जेलेन्स्की र युरोपेली नेताहरूको अनलाइन रणनीतिक बैठकको तयारी

ट्रम्प-पुटिन वार्ताअघि जेलेन्स्की र युरोपेली नेताहरूको अनलाइन रणनीतिक बैठकको तयारी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने वार्ताअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र प्रमुख युरोपेली नेताहरूले अनलाइन सम्मेलन गर्ने तयारी गरेका छन्।

यो बैठकको उद्देश्य ट्रम्पलाई पुटिनसँगको छलफलमा किएभको हितलाई सम्मान गर्न सहमत गराउने रहेको बताइएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जका अनुसार जेलेन्स्की जर्मनीमा आयोजना हुने भिडियो सम्मेलनमा सहभागी हुन बर्लिन पुग्नेछन्।

मर्जले फ्रान्स, बेलायतका प्रधानमन्त्रीहरू, अन्य युरोपेली नेता, युरोपेली सङ्घ र नेटोका प्रमुखलाई समेत सहभागी हुन निमन्त्रणा दिएका छन्। यसपछि दोस्रो चरणमा उनीहरूले ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग ‘कन्फरेन्स कल’मार्फत छलफल गर्ने योजना छ।

तर ट्रम्प-पुटिनको प्रत्यक्ष भेटमा जेलेन्स्की सहभागी नहुने पक्का भइसकेको छ, जसले युक्रेनलाई भूमिसम्बन्धी संवेदनशील सम्झौतामा बाध्य पारिने आशङ्का बढाएको छ।

युरोपेली सङ्घका नेताहरूले मंगलबार ‘युक्रेनको आफ्नो भाग्य आफैं रोज्ने अधिकार’ मा जोड दिँदै, “अन्तर्राष्ट्रिय सीमाहरू बलपूर्वक परिवर्तन हुनुहुँदैन” भनेर स्पष्ट अडान व्यक्त गरे।

जेलेन्स्कीले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै मस्कोले दाबी गरेको डोनबास क्षेत्रबाट सेना फिर्ता गर्न आफू तयार नरहेको दोहोर्याए। जर्मन चान्सलरको कार्यालयका अनुसार सम्मेलनमा ‘रूसमाथि दबाब बढाउने उपाय’, ‘शान्ति वार्ताको तयारी’ र ‘क्षेत्रीय दाबी तथा सुरक्षा मुद्दा’बारे छलफल हुनेछ।

बेलायती प्रधानमन्त्री केइर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र मर्जले युक्रेनका सैन्य समर्थकहरूको गठबन्धनसँग छुट्टै बैठक पनि गर्नेछन्।

यसैबीच, सोमबार अलास्कामा हुने बैठकको सफलताको सम्भावनाबारे सचेत रहे पनि राष्ट्रपति ट्रम्पले पुटिनसँग ‘रचनात्मक संवाद’को अपेक्षा व्यक्त गरे। उनले युद्धबन्दी आदानप्रदान र भूमिसम्बन्धी केही सम्झौताका सम्भावनाबारे संकेत गरे।

रुसले शान्ति सम्झौताका लागि युक्रेनलाई कब्जा गरिएका क्षेत्रहरूबाट सेना फिर्ता बोलाउन, तटस्थ राष्ट्र बन्न, अमेरिका-युरोपेली सैन्य सहयोग त्याग्न र नेटोमा सामेल नहुने प्रतिबद्धता गर्न माग गरेको छ। तर युक्रेनले आफ्नो सार्वभौम भूमिमा रुसी नियन्त्रणलाई कहिल्यै स्वीकार नगर्ने अडान दोहोर्याएको छ।

मंगलबार मस्कोले पूर्वी सीमाको महत्वपूर्ण भागमा सैन्य प्रगति गरेपछि युक्रेनी सेनाले ‘कठिन लडाइँ’ भइरहेको बताएको छ। जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत, ‘रुसी सेना युद्ध अन्त्य गर्ने तयारीमा छैन, बरु नयाँ आक्रमणको तयारी गर्दैछ’ भनेका छन्।

साउन २८, २०८२ बुधबार २०:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।