झापाको दमकस्थित सार्वजनिक जग्गा हिनामिना प्रकरणमा माओवादी नेता गगन पुरी दोषी ठहर

झापाको दमकस्थित सार्वजनिक जग्गा हिनामिना प्रकरणमा माओवादी नेता गगन पुरी दोषी ठहर

काठमाडौं : विशेष अदालतले झापाले दमकस्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको मुद्दामा नेकपा माओवादी केन्द्रका नेता गगन पुरी (रेवतीराज पुरी) सहित कर्मचारीहरूलाई भ्रष्टाचारी ठहर गरेको छ।

बुधबार अध्यक्ष न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले दुई छुट्टाछुट्टै मुद्दामा पुरीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।

एक मुद्दामा ९ जना र अर्को मुद्दामा १० जनालाई दोषी ठहर गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। उनका अनुसार कतिपय प्रतिवादी दुबै मुद्दामा दोहोरिएका थिए र दुवै मुद्दाको फैसला एउटै दिन सुनाइएको हो।

पहिलो मुद्दामा पुरीलाई एक वर्ष कैद र २० लाख ८३ हजार ६७१ रुपैयाँ बिगोबापत जरिवाना तोकिएको छ। दोस्रो मुद्दामा पनि एक वर्ष कैद र ३१ लाख ५२ हजार ५५९ रुपैयाँ जरिवाना निर्धारण गरिएको छ।

२०२१ सालको नापीमा सरकारी सार्वजनिक जग्गा कायम रहेका साबिक दमक-६ ग का विभिन्न व्यक्तिको नाममा स्ववासी प्रक्रियाबाट दर्ता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरीसहित १७२ जनाविरुद्ध एक पटक र १८७ जनाविरुद्ध अर्को पटक मुद्दा दायर गरेको थियो।

तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झालाई पनि अदालतले दोषी ठहर गरेको भए पनि उनको मृत्यु भइसकेकाले सजाय कार्यान्वयन नभएको हो। 

साउन २८, २०८२ बुधबार १९:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।