काठमाडौंमा निरन्तर बढ्दै आर्थिक अपराध, हुन्डी कारोबारदेखि अनुचित लेनदेनले चुनौती थपिँदै

काठमाडौं : अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/०८२ मा काठमाडौं उपत्यकामा अपराध बढेको पाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा ०.३३ प्रतिशतले अपराध बढेको देखाएको छ।
बुधबार सार्वजनिक भएको तथ्यांक अनुसार काठमाडौं उपत्यका भरी २०७८/०७९ मा ८ हजार ९७७ मुद्दा दर्ता भएकोमा २०७९/०८० मा ह्वात्तै बढेर १३ हजार ४६४ पुगेको थियो। २०८०/०८१ मा १२ हजार ८७२ मुद्दा दर्ता हुँदा २०८१/०८२ मा १२ हजार ९ सय १५ मुद्दा दर्ता भएका छन्। यसरी हेर्दा अघिल्लो वर्ष भन्दा ४३ वटा मुद्दा बढी परेका छन्।
काठमाडौं उपत्याकाभर गत आर्थिक वर्षमा सबैभन्दा बढी बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन्। जसमा ६ हजार ५५३ मुद्दा बैंकिङ्ग कसुरमा छ। त्यसैगरी अभद्र व्यवहारमा १ हजार ९५३, चोरी ९ सय ५१, ठगी सात सय ४५, लागु औषधमा ४ सय ३१, आत्महत्या ३ सय ३२, जबर्जस्ती करणी २ सय ४४, ज्यान मार्ने उद्योगमा १ सय ४०, सवारी ज्यान १ सय र सवारी अंगभंगमा ७४ मुद्दा दर्ता भएको तथ्यांक छ।
बढ्यो आर्थिक अपराध, सुस्ताएन लागु औषध
परिसरको तथ्यांक हेर्दा उपत्यकामा आर्थिक अपराध बढेको देखिन्छ। जसमा बैंकिङ्ग कसुरमा गत आर्थिक वर्षमा ६ हजार ५५३, सहकारी ठगीमा ३२,अनुचित लेनदेनमा ३०, विद्युतीय कसुर वा साइबर अपराधमा २३, हुन्डी कारोबारमा १८, अभौतिक मुद्रा सम्बन्धी कसुर (क्रिप्टोकरेन्सी) मा १२ मुद्दा दर्ता भएको तथ्यांक छ। त्यसैगरी, ज्यान मार्ने उद्योगमा गत आर्थिक वर्षमा २५ जनालाई मुद्दा चलाइएको थियो।
काठमाडौं उपत्यकामा लागू औषध कारोबारीहरू पछिल्ला वर्षहरूमा बढेको देखिन्छ। जसमा उपत्यकामा २०७७/०७८ मा लागू औषध करोबारी सम्बन्धी २ सय ४० मुद्दा दर्ता भएको छ। त्यस्तै, २०७८/०७९ मा ३ सय ३९, २०७९/०८० मा ३ सय ६८, २०८०/०८१ मा ३ सय ६३ र २०८१/०८२ मा ४ सय ३१ मुद्दा लागू औषधको दर्ता भएको तथ्यांक छ।
लागू औषध कारोबार मुद्दामा आर्थिक वर्ष २०७९/०८० मा ५ सय ९८ पक्राउ परेका थिए भने आर्थिक वर्ष २०८०/०८१ मा ६ सय ४ जना,२०८१/०८२ मा ७ सय २५ जना पक्राउ परेका छ।
तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा मात्रै गाँजा गत आर्थिक वर्षमा मात्रै ९ क्यिन्टल १ किलो बरामत भएको छ। त्यस्तै चरेश २ क्यिन्टल ७२ किलो, खैरो हिरोइन ८ सय २८ ग्राम, नाईट्राभेट (ट्याबलेट) ८ हजार ३८२, फेनारगन ३ हजार ५९४,,डाईजोपाम (एम्पुल) ६ हजार ९, ब्राउन सुगर ७१३ ग्राम, ट्रामाडोल (ट्याबलेट) १ लाख ७३ हजार ३६१, नुर्फिन (एम्पुल) २ हजार ७७२, ट्रमानिल १ हजार ७०८ ,पोलेन ७ हजार ३५ ग्राम लागू औषध बरामत भएको छ।
लागू औषध कारोबारीमा युवाहरूको संलग्नता देखिन्छ। जसमा १५ वर्षभन्दा कम उमेर समूह लागू औषधमा ३२.४ प्रतिशत, १५ देखी १९ वर्षका ४८.९ प्रतिशत, २० देखी २४ का १३.८ प्रतिशत, २५ देखी २९ वर्ष ४.९ प्रतिशत युवाहरू संलग्न रहेको परिसरको तथ्यांकमा उल्लेख छ।
साउन २८, २०८२ बुधबार १७:४०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।