रामहरिले बुझाए सभामुखलाई राजीनामा पत्र

रामहरिले बुझाए सभामुखलाई राजीनामा पत्र

काठमाडौं : प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन्। सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन्।

बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन्। 
उनले मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम राजीनामा दिएका हुन्।  

निजामती विधेयकमा रहेको कुलिङ अफ पिरियडको प्रावधानमाथि भएको छेडखानिबारे संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार राजनीतिक जिम्मेवारी लिँदै खतिवडाले समिति सभापतिबाट राजीनामाको घोषणा गरेका हुन्।

प्रतिवेदनमा विधेयकबारे अन्तिममा औपचारिक छलफल नगरेको र छेडखानी भएको विधेयकमा हस्ताक्षर गरेको आधारमा राजनीतिक रुपमा जिम्मेवार बनाउन सिफारिस गरिएको थियो। 

प्रतिवेदनमा मुख्यसचिवसहित राज्य व्यवस्था समितिका सचिव लगायत तत्कालीन समयमा कुलिङ अफ पिरियड हटाउन हुल बाँधेर संसदीय र राजनीतिक लबिङमा हिँडेका तत्कालीन कानुन सचिवसहितमाथि अनुशासनको कारबाही सिफारिस गरिएको छ। 

संसद्मा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका सांसदहरूले समिति सभापति खतिवडाको राजीनामा मागे पनि कर्मचारीको हकमा भने मौन बस्दै आएका छन्। 

सभामुख देवराज घिमिरेले प्रतिवेदन बुझे पनि त्यसलाई कार्यान्वयनको चरणमा लगेका छैनन्। सामान्यतः यस्तो प्रतिवेदन सचिवालयबाट प्रधानमन्त्रीको कार्यालयमा कार्यान्वयनको लागि पठाउनु पर्ने हो। तर उनले पठाएका छैनन्। राजनीतिक तहको जिम्मेवारीका लागि उनले प्रतिवेदन नेपाली कांग्रेस संसदीय दलमा कार्यान्वयनका लागि पठाउनु पर्ने हो। तर नपठाए पनि सार्वजनिक भएको प्रतिवेदनको आधारमा राजीनामा दिन निर्देशन आयो, खतिवडाले राजीनामा दिए। 

साउन २८, २०८२ बुधबार १६:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।