‘एउटा व्यक्ति माथि राजनीतिक प्रतिशोध भएको भए थुनामा रहेका अरू व्यक्ति माथि के भएको हो ?’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको बताएका छन्। एउटा व्यक्ति माथि राजनीति प्रतिशोध भएको भए थुनामा रहेका अरु व्यक्ति माथि के भएको हो त ? प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे।
बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामिछानेबारे अदालतको आदेशलाई प्रतिशोधको रूपमा चित्रित गर्न खोजिएको भन्दै रास्वपालाई प्रतिप्रश्न गरे। ‘यस्ताका पछि लाग्ने भिड अचम्म लाग्दो मात्र होइन दया लाग्दो छ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले भिडको दबाबमा न्यायको हत्या गर्ने र अभियोगमुक्त हुन खोज्ने मानसिकता गलत भएको चेतावनी दिए। ‘संसदमा सरकारले गरेका कामबारे सार्थक बहस हुनुको सट्टा अर्थहीन विषयमा विषयान्तर गरिने प्रवृत्ति बढेको छ, जसले समृद्धिको भरोसा दिन सक्दैन,’ उनले भने।
‘यस्ता बहसहरू देश निर्माणका लागि होइन, गाली, निन्दा र भर्त्सनाका कन्टेन्ट उत्पादन गरेर समाजलाई उत्तेजनामा राख्ने नियतले भइरहेका छन्,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले आगामी २०८४ सालसम्म यो सरकार चल्ने दाबी गरे। प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयको निर्णय सरकारको पक्षमा होस् वा विपक्षमा, त्यसमा सरकारको हात हुँदैन भन्ने कुरा बुझ्न सबैलाई आग्रह गरे।
साउन २८, २०८२ बुधबार १४:५०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।