गृहमन्त्रीलाई रास्वपा सांसदको प्रश्न- ‘जीबी राई घरभित्र छन् कि सत्ताको ओडारभित्र?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक कुमार चौधरीले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईको अवस्थाबारे गृहमन्त्रीसँग जवाफ मागेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राईलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे।
सांसद चौधरीले गृहमन्त्रीलाई प्रश्न गरे, ‘जीबी राईलाई कहाँ लुकाइएको छ? उनी घरभित्र छन् कि सत्ताको ओडारभित्र लुकाइएको छ?’
उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘गिरिबन्धु टी-स्टेटको फाइल कहाँ हरायो? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो?’ भन्दै व्यङ्ग्य गरेका छन्।
यसका अलावा अहिलेकी परराष्ट्रमन्त्री आरजु राणाको समेत नाम मुछिएको नक्कनी भुटानी शरणार्थी प्रकरणबारे पनि प्रश्न गरेका छन्।
उनले प्रश्न गरेका छन्- ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ थन्कियो? उच्चस्तरीय नेताहरूको नाम खुले पनि अनुसन्धान किन सुस्त भयो? के यो बयानलाई पनि अप्राकृतिक गठबन्धनले थुनेको छ?’
यसका साथै, चौधरीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय वा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीको आन्दोलन जारी रहने चेतावनी दिए।
साउन २८, २०८२ बुधबार १३:५७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।