सुनसरीको दुहबीमा सेफ्टी ट्यांकीभित्र दुई जना मृत फेला

विराटनगर : सुनसरीको दुहबी नगरपालिका-४ मा बुधबार बिहान एक निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृतकहरू दुहबी नगरपालिका-२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। तामाङले उक्त घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदारको रूपमा कार्यरत थिए।
प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार, दुहबी-४ शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्यांकीमा बिहान करिब १० बजे शव भेटिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीको टोली घटनास्थल पुगेको थियो।
घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक विज्ञको टोलीले घटनास्थलको परीक्षण गरिरहेको छ।
प्रहरीले मृत्युको कारण खुल्न बाँकी रहेको र घटना सम्बन्धमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
साउन २८, २०८२ बुधबार १३:३६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।