उपकुलपतिमा छनोट नभएपछि डा. रामेशको राजीनामा, डेढ वर्षअघि नै भनेका थिए- ‘धन्यवाद भाउजु’

उपकुलपतिमा छनोट नभएपछि डा. रामेशको राजीनामा, डेढ वर्षअघि नै भनेका थिए- ‘धन्यवाद भाउजु’

काठमाडौं : स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा छनोट नभएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक डा. रामेश कोइरालाले राजीनामा दिएका छन्।

नेपाली कांग्रेस र एमालेको भागबण्डा मिलेर कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चार प्रतिष्ठानको उपकुलपतिमा अरुलाई नियुक्ति गरेपछि उनले राजीनामा दिएका हुन्।

ओलीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत बहादुर खत्री, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्रा. डा. पुजन कुमार रोकायालाई उपकुलपतिमा नियुक्त गरेका थिए।

डा. कोइरालाले धरान र पोखराको उपकुलपतिका लागि आवेदन दिएका थिए। तर, उनी कांग्रेस र एमालेको भागबण्डाको उपकुलपति नियुक्तिमा नपरेपछि बुधबार विहान इमेलबाट राजीनामा बुझाएका हुन्।

‘विद्युतीय इमेल/हस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुनेगरी मेरो राजिनामा स्विकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु’, अमेरिका रहेका उनले इमेलमार्फत दिएको राजीनामा पत्रमा उल्लेख छ।

डा.कोइरालाले ट्वीटरमा लेखेका छन्, ‘र म तपाईंको खुच्चिङमा रमाइरहेको छु, एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फर फरक कलेबरमा फर्किने सोच पनि ज्यूँदैछ’ भनेका छन्। त्यसैगरी ‘र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!’

र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏 pic.twitter.com/k3B4FxFsMa

— रामेश (@RaameshKoirala) August 13, 2025

डा. कोइरालाले यसअघि २०८० पुसमा पनि गंगालालबाट राजीनामा दिने मनस्थितिमा पुगेको भन्दै ट्वीट गरेका थिए। उनले सो समयमा नेपाली कांग्रेसले आफूलाई दण्डवत गरेको भन्दै व्यङ्ग्यात्मक रूपमा परराष्ट्रमन्त्री एवं देउवापत्नी आरजु राणा देउवालाई धन्यवाद दिएका थिए।

उक्त समयमा उनले लेखेका थिए, ‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्न्ने म मन नपरीकन पनि कसो कसो सरकारीबाट राजिनामातिर पुग्दैछु। मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै। सरी गंगालाल र धन्यवाद भाउजू! जय नेपाल!’

देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्न्ने म मन नपरीकन पनि कसो कसो सरकारीबाट राजिनामातिर पुग्दैछु। मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै। सरी गंगालाल र धन्यवाद भाउजू! जय नेपाल!

— रामेश (@RaameshKoirala) December 22, 2023

 

साउन २८, २०८२ बुधबार १३:०९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।