रविको न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने पत्नी निकिताको घोषणा, गृहमन्त्रीमाथि हस्तक्षेपको गम्भीर आरोप

रविको न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने पत्नी निकिताको घोषणा, गृहमन्त्रीमाथि हस्तक्षेपको गम्भीर आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो पतिको मुद्दामा तत्कालीन गृहमन्त्री रमेश लेखकले न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छन्।

साथमा उनले लामिछानेमाथि भएको अन्यायविरुद्ध आफू उच्च अदालत हुँदै अन्तर्राष्ट्रिय अदालतसम्म जाने उनले घोषणा गरेकी छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै पौडेलले राजनीतिक प्रभावका कारण न्यायालयको निष्पक्षता खल्बलिएको दाबी गरेकी हुन्। उनले गृहमन्त्रीको निर्देशनमा लामिछानेलाई सामान्य न्यायिक सुविधाबाट समेत वञ्चित गरिएको आरोप लगाइन्।

‘आम थुनुवाले पाउने अड्डासारको सुविधा मेरो श्रीमानलाई अदालतले आदेश दिए पनि गृहमन्त्रीको निर्देशनमा रोकिन्छ’, उनले लेखेकी छन्।

पौडेलका अनुसार, अदालतमा मुद्दाको पेसी चढेपछि न्यायाधीशलाई तर्साउने नियतले न्यायिक परिषद्मा उजुरी हाल्ने र ती उजुरीहरू गृहमन्त्रीकै कार्यकक्षमा तयार हुने गरेका थिए। उनले लेखेकी छन्, ‘उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर, समाचार लिंक सबैलाई मोबाइलमा पठाउने आदेश दिनुहुन्छ, न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ।’

उनले रवि लामिछानेविरुद्धका सबै मुद्दाहरू लेखक गृहमन्त्री भएपछि मात्र सुनियोजित रूपमा अघि बढाइएको भन्दै यसलाई षड्यन्त्रको संज्ञा दिएकी छन्। अदालतमा बहसका क्रममा सरकारी वकिलहरूले प्रश्नको जवाफ दिन नसके पनि फैसला विपक्षमा आउनुले यो कुरा पुष्टि गर्ने उनको जिकिर छ।

‘इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्ष दिन सक्दैन, तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन’, स्टाटसमा भनिएको छ।

पौडेलले प्रधानमन्त्री, कानुनमन्त्री र गृहमन्त्रीले न्यायाधीशहरूलाई फोन गरेरै दबाब दिने गरेको कुरा आफूले अहिले प्रत्यक्ष भोगिरहेको बताएकी छन्।

‘न्याय नपाएसम्म म लडिरहन्छु,’ भन्दै उनले न्याय सम्पादनमा अवरोध पुर्याइएको भन्दै न्याय परिषद्मा उजुरी दिने चेतावनी समेत दिएकी छन्।

उनले प्रधानन्यायाधीशलाई सम्बोधन गर्दै आफ्नो लडाइँ नरोकिने संकेत गरेकी छन्।

उनले लेखेकी छन्, ‘कार्यकाल सकिएपछि लेखिने पुस्तकले न्याय दिँदैन, कार्यकालमै लेखिएको आदेशले दिन्छ। न्याय पाउँछु पाउँदिनँ थाहा छैन, तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु। न्याय नपाउन्जेल लड्छु।’

साउन २८, २०८२ बुधबार १२:५२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।