भागबन्डा मिलेपछि चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त, तीन जनाले आज पत्र बुझ्दै

भागबन्डा मिलेपछि चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त, तीन जनाले आज पत्र बुझ्दै

काठमाडौं : सत्ताधारी दुई दल एमाले र नेपाली कांग्रेसको भागबण्डा मिलेपछि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गरेका छन्।

ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिपछि पाटन र पोखरामा एमालेनिकट अनि कर्णाली र धरान कांग्रेसनिकट उपकुलपति नियुक्त भएका हुन्।

ओलीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा. डा. बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत बहादुर खत्री, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्रा. डा. पुजन कुमार रोकायालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

यी चारै चिकित्सकहरुसँग उकेराले बुधबार बिहान सम्पर्क गर्दा उपकुलपतिमा नियुक्त भएको जानकारी दिए। पोखराको उपकुलपति नियुक्त भएका डा. खत्रीले मंगलबारको मितिमा नियुक्त भएको पत्र बुझेको र अब सपथग्रहण बाँकी रहेको बताए।

पाटनको उपकुलपतिमा नियुक्त भएका डा. पौडेलले प्रधानमन्त्री कार्यालयबाट उपकुलपति नियुक्ति भएको जानकारी पाएको र आज पत्र बुझेर पदभार ग्रहण गर्ने तयारी रहेको जानकारी दिए।

उता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त डा. श्रेष्ठ र कर्णालीमा नियुक्त डा. रोकायाले नियुक्त भएको जानकारी पाएर नियुक्ति पत्र लिन गइरहेको पुष्टि गरे।

चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि ५४ जनाको आवेदन परेको थियो।

साउन २८, २०८२ बुधबार १२:०३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।