बुहारीका पीडामा विष्णु माझीको तीज गीत ‘म त नराउरी’

काठमाडौं : चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ।
हरेक वर्ष तीजमा फरक र मार्मिक विषयवस्तुका गीत ल्याउने माझीले यसपटक छोरीमाथिको विभेद, पितृसत्तात्मक सोच र बुहारीले भोग्नुपर्ने पीडालाई आफ्नो गीतको मुख्य विषय बनाएकी छन्।
सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा सजिएको यस गीतमा विष्णु माझीको सुमधुर स्वर सुन्न सकिन्छ। ‘तिम्रै छोरो राम्रा, म त नराउरी’ भन्ने व्यंग्यात्मक अंशबाट सुरू हुने गीतले महिलालाई घरको सम्पूर्ण जिम्मेवारी बोकाउने तर सम्मान नदिने सामाजिक सोचको सशक्त विरोध गरेको छ।
गीतले बाल्यकालदेखि बुहारीको भूमिका निभाउँदासम्म आइपर्ने मनोवैज्ञानिक पीडा, महिलालाई चुलोचौकोमा सीमित गर्ने प्रवृत्ति र हरेक गल्तीको दोष महिलामाथि थुपार्ने सामाजिक यथार्थलाई जीवन्त चित्रण गरेको छ।
जन्मघरदेखि कर्मघरसम्म भोग्नुपर्ने विभेद र त्यसबाट मुक्तिको आकांक्षालाई गीतमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ। गीतको भावअनुसारकै म्युजिक भिडियो तयार पारिएको छ।
सुन्दरमणि अधिकारीको निर्देशनमा बनेको भिडियोमा ललिता पौडेलको जीवन्त अभिनय देख्न सकिन्छ। भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् भने सम्पादन प्रवीण भट्टले गरेका छन्। यसको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।
साउन २८, २०८२ बुधबार ११:५०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।