राजतन्त्र, आरएसएस र वर्तमान राजनीति : नेपालमा हिन्दु राष्ट्रको बहस र यसले बोकेको सार्वभौमिकताको प्रश्न

वीरगञ्जको सोनारनिया गाउँमा रहेको सुरेश पासवानको घरको आँगन। त्यहाँ करिब ३० जना दलित बालबालिका पढाइ सकेपछि हातमा संकल्पको धागो बाँध्दै प्रतिज्ञा गर्छन्, ‘हामी नेपाललाई हिन्दु राष्ट्र बनाउनेछौं। धर्मान्तरण र गोहत्या रोक्नेछौं।’
यो दृश्य सामान्य लाग्न सक्छ, तर यसले नेपालको सामाजिक र राजनीतिक तहमा फैलिरहेको हिन्दुत्वको अभियानको गहिराइलाई संकेत गर्छ।
यो ‘एकल विद्यालय’ हो, जुन सन् १९९२ मा सुरू भएको अभियानको एक हिस्सा हो। यी विद्यालयहरू कुनै ठूला भवनमा होइन, कसैको घरको आँगन वा रूखको छहारीमा चल्छन्। तर, यिनको उद्देश्य केवल अक्षर सिकाउनु मात्र होइन, बालबालिकाको कलिलो मस्तिष्कमा हिन्दुत्वको विचारधारा स्थापित गर्नु हो।
एचएसएस र आरएसएस: एउटै सिक्काका दुई पाटा?
नेपालमा हिन्दुत्वको राजनीतिलाई अगाडि बढाउने सबैभन्दा सक्रिय संगठन हो ‘हिन्दु स्वयंसेवक संघ’ (एचएसएस)। यो संगठन नेपालमा मात्र होइन, अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता विकसित देशहरूमा पनि सक्रिय छ।
भारतको प्रभावशाली संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ’ (आरएसएस) र एचएसएसले औपचारिक रूपमा आफ्नो सम्बन्ध स्वीकार गर्दैनन्, तर उनीहरूको संरचना, कार्यशैली र वैचारिक आधार एउटै देखिन्छ।
विद्यालय र पाठ्यक्रम बारा जिल्लाका एकल विद्यालय प्रमुख सोहनलाल प्रसाद साह गर्वका साथ भन्छन्, ‘एकल विद्यालय आरएसएसकै हो। हामी यहाँ संस्कारयुक्त शिक्षा दिन्छौँ, जसमा गोमाताको सम्मान, धर्मान्तरणविरुद्ध जागरूकता र नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउने मुद्दा सामेल छन्।’
साहहले आफूले भारतको गोरखपुरमा आरएसएसको २१ दिने ‘ओटीसी’ (अफिसर्स ट्रेनिङ क्याम्प) तालिम लिएको समेत खुलासा गरे।
रगञ्जको ‘पशुपति शिक्षा मन्दिर’मा एचएसएसको प्रशिक्षण कार्यक्रम आयोजना हुन्छ। त्यहाँको माहौल, स्वयंसेवकले लगाउने गणवेश (सेतो सर्ट, खरानी पेन्ट), भगवा ध्वजलाई प्रणाम गर्ने तरिका र शाखाको अन्त्यमा गाइने प्रार्थना ‘नमस्ते सदा वत्सले...’ ठ्याक्कै भारतमा हुने आरएसएसको शाखा जस्तै छ।
नेपालमा यो अभियानको नेतृत्व गरिरहेका रवित कुमार (भारत, मेरठ) र वेद प्रकाश (विराटनगर) आरएसएसका प्रचारक हुन्। यद्यपि, उनीहरू क्यामेरा अगाडि यो सम्बन्धबारे बोल्न हिचकिचाउँछन्।
तर, पशुपति शिक्षा मन्दिरको प्रधानाध्यापकको कोठालाई ‘हेडगेवार कक्ष’ नाम दिइएको छ भने विद्यालयमा आरएसएसका संस्थापक केशव बलिराम हेडगेवार र दोस्रो सरसंघचालक माधव सदाशिव गोलवलकरका तस्बिर छन्। नेपालका कुनै पनि विभूतिको तस्बिर त्यहाँ देखिँदैन।
काठमाडौंमा एचएसएसको मुख्यालयको नाम ‘केशव धाम’ छ, जबकि दिल्लीमा आरएसएसको मुख्यालय ‘केशव कुञ्ज’ हो। नाममा यो समानता संयोग मात्र होइन। एचएसएसका स्वयंसेवकहरूलाई तेस्रो वर्षको विशेष तालिमका लागि आरएसएसको मुख्यालय नागपुर नै पठाइन्छ।
‘द आरएसएस, अ भ्यू टु द इनसाइड’ पुस्तकका लेखक वाल्टर एन्डरसनका अनुसार, ‘एचएसएस’ आरएसएसको विदेशी शाखाहरूका लागि प्रयोग गरिने साझा नाम हो, जसले गर्दा ‘राष्ट्रिय’ शब्दले कुनै एक देशको भौगोलिक सीमामा बाँधिनु नपरोस्।
इतिहासको ऐनामा राजतन्त्रदेखि वीपीसम्मको सम्बन्ध
नेपाल र हिन्दुत्वको राजनीतिबीचको सम्बन्ध नयाँ होइन। आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले नेपाललाई ‘असली हिन्दुस्थान'’को रूपमा व्याख्या गरेका थिए, किनभने भारतमा मुगल र अंग्रेजको शासन थियो तर नेपाल स्वतन्त्र रह्यो।
सन् १९६० को दशकमा राजा महेन्द्रले आरएसएससँग निकटता बढाउने प्रयास गरेका थिए। आरएसएसले उनलाई ‘हिन्दु सम्राट’ को रूपमा हेर्थ्यो। सन् १९६४ मा उनलाई नागपुरमा एक र्यालीलाई सम्बोधन गर्न निम्तो दिइएको थियो, तर भारतको तत्कालीन कांग्रेस सरकारको असहजताका कारण उक्त भ्रमण रद्द भयो।
सन् १९५९ मा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बनेका वीपी कोइराला धर्मनिरपेक्षताका पक्षधर थिए। उनले नेपालगञ्जमा साम्प्रदायिक भावना फैलाएको आरोपमा आरएसएससँग सम्बन्धित केही व्यक्तिहरूलाई पक्राउ गराएका थिए।
राजा महेन्द्रले कोइरालालाई अपदस्थ गरेपछि नै सन् १९६२ मा नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिएको थियो। यसले देखाउँछ कि हिन्दुत्वको राजनीतिलाई सत्तामा टिकिरहन राजा महेन्द्रले प्रयोग गरेका थिए।
बदलिँदो सामाजिक सद्भाव र नयाँ नारा
सन् २०१४ मा भारतमा नरेन्द्र मोदीको नेतृत्वमा बीजेपी सरकार बनेपछि नेपालमा हिन्दुत्वको राजनीतिले थप ऊर्जा पाएको धेरै भारतीय विश्लेषकको दाबी छ। यसका केही असरहरू स्पष्ट देखिन थालेका छन्।
भारतको बिहार र उत्तर प्रदेशसँग सिमाना जोडिएको मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा साम्प्रदायिक तनावका घटनाहरू बढेका छन्। रामनवमी र हनुमान जयन्ती जस्ता धार्मिक पर्वहरूमा हुने झडपहरूले वर्षौंदेखिको सामाजिक सद्भाव खलबलिएको छ।
भारतमा ‘भारत माता की जय’को नारा जस्तै नेपालमा ‘नेपाल आमाको जय’को नारा लगाउने चलन बढेको छ। पूर्वराजदूत लोकराज बरालका अनुसार, यो नारा नेपाली राजनीतिक परम्पराको हिस्सा थिएन र यसले नेपालको ‘हिन्दुइजम’ (जीवनशैली) लाई ‘हिन्दुत्व’ (राजनीतिक विचारधारा) मा बदल्ने प्रयास भइरहेको संकेत गर्छ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको अनुभवले यो परिवर्तनलाई अझ स्पष्ट पार्छ।
उनी भन्छन्, ‘मेरो नाम लालबाबु राउत, बुबाको नाम दशरथ राउत, भाइको नाम राम राउत। तर आज राजनीतिमा मेरो धार्मिक पहिचान अनिवार्य बनाइँदैछ। पार्टीकै मानिसहरू मेरो नामअघि मोहम्मद जोड्न थालेका छन्। मैले मेरो छोराको नाम दाउद राखेको छु। अब धार्मिक पहिचानको लागि मानिसहरूको चाहना बढेको छ।’
मुख्य चिन्ता: राष्ट्रवाद र सार्वभौमिकताको प्रश्न
नेपालमा हिन्दुत्वको राजनीतिको विस्तारलाई केहीले ‘जनजागरण’को रूपमा हेरेका छन् भने धेरै राजनीतिज्ञ र विश्लेषकहरूले यसलाई नेपालको सार्वभौमिकताका लागि खतरा मानेका छन्।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह भन्छन्- ‘जब दुई देश (नेपाल र भारत) को राष्ट्रवाद एउटै हुन्छ, तब सार्वभौमिकता भन्ने कुरै रहँदैन।’
उनी हिन्दुत्वको प्रभावकै कारण चुनावमा मुस्लिम उम्मेदवारहरूको टिकट काटिने गरेको र त्यसैको परिणाम स्वरूप प्रत्यक्ष चुनावबाट एकजना पनि मुस्लिम सांसद निर्वाचित हुन नसकेको बताउँछन्।
पूर्व विदेशमन्त्री प्रदीप ज्ञवालीले पनि हिन्दुत्वको राजनीतिलाई नेपालको सार्वभौमिकताका लागि खतरनाक मानेका छन्। उनका अनुसार, नेपालमा राजतन्त्र समर्थक र हिन्दुत्ववादी शक्तिहरू एउटै हुन्।
पूर्वराजदूत लोकराज बराल नेपालमा हिन्दुत्वको राजनीतिले धार्मिक ध्रुवीकरणभन्दा पनि नेपालको सार्वभौम अस्तित्वमाथि नै चुनौती खडा हुने दाबी गर्छन्।
बीबीसी हिन्दीमा भएको सामग्री सम्पादनसहित अनुवाद
साउन २८, २०८२ बुधबार ११:२२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।