राष्ट्रपतिबाट ‘फोटो मात्र’, आलोचनापछि सरकारले रवीन्द्रलाई ५ लाखसहित सम्मान गर्ने

राष्ट्रपतिबाट ‘फोटो मात्र’, आलोचनापछि सरकारले रवीन्द्रलाई ५ लाखसहित सम्मान गर्ने

काठमाडौं : राष्ट्रपति कार्यालयमा सम्मानको नाममा फोटो मात्र खिचाइएको भन्दै आलोचना भएपछि सरकारले मिक्स मार्सल आर्ट्स (एमएमए) च्याम्पियन रवीन्द्र ढाँटलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई ५ लाख र उनका प्रशिक्षकलाई २ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले ढाँटलाई सम्मानका लागि बोलाएर एउटा माला मात्र लगाइदिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। राष्ट्रपति कार्यालयबाट कदरपत्रसमेत नदिएको भन्दै ढाँटको टिममै रहेका भ्लगर सिसन बानियाँले सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए।

हालै भारतमा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन-१७) मा ढाँटले भारतीय च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट उपाधि जितेका थिए। तेस्रो राउन्डमा लगातारको प्रहारले कोरेनलाई संकटमा पारेपछि रेफ्रीले खेल रोक्दै ढाँटलाई प्राविधिक नकआउटका आधारमा विजेता घोषित गरेका थिए।

यो जितसँगै ढाँट एमएफएनको उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्। उनले कोरेनको पाँच खेलको अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिए।

यसैबीच, काठमाडौं महानगरपालिकाले पनि च्याम्पियन ढाँटलाई सम्मान गरेको छ। मंगलबार महानगर प्रमुख बालेन्द्र शाहले ढाँटलाई २ लाख नगद र कदरपत्रसहित सम्मान गरेका थिए।

साउन २८, २०८२ बुधबार ०८:१७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।