महिलाको मृत्युपछि कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान तीव्र, ३९ गोठ ध्वस्त

दोधारा चाँदनी : कञ्चनपुरमा कुप्रथाका रूपमा रहेको छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको छ। हालै एक महिलाको छाउगोठमा सर्पले टोकेर मृत्यु भएपछि चलाइएको अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट ३९ वटा छाउगोठ भत्काइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिका-१० मा २३ र कृष्णपुर नगरपालिका-१ मा १६ वटा गरी कुल ३९ छाउगोठ भत्काइएको हो।
‘स्थानीय जनप्रतिनिधि, प्रहरी, विभिन्न सङ्घसंस्था र स्थानीयवासीको संयुक्त प्रयासमा बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली तथा भेन्टी बजार क्षेत्रका छाउगोठहरू भत्काइएको हो’, प्रवक्ता बोहराले भने।
गत असारमा कृष्णपुर नगरपालिका-१, निगालीकी २८ वर्षीया कमला दमाइको छाउगोठमा बसेका बेला सर्पदंशबाट मृत्यु भएको थियो।
उक्त घटनापछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई छाउगोठ भत्काउन कडा निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार स्थानीय तहहरूले प्रहरीसँगको समन्वयमा अभियान सञ्चालन गरेका हुन्।
बेदकोट नगरपालिका-१० का वडाध्यक्ष रतनसिंह विष्टले आफ्नो वडा र वडा नं. ४ मा गरी २३ वटा छाउगोठ भत्काइएको जानकारी दिए।
उनले भने, ‘हामीले गोठ त भत्कायौँ, तर स्थानीयले फेरि बनाउँछन् कि भन्ने चिन्ता छ। यसका लागि हामीले सम्बन्धित परिवारलाई बोलाएर अभिमुखीकरण गर्ने र कुरीतिबारे सचेत गराउने तयारी गरेका छौँ।’
यसैगरी, कृष्णपुर नगरपालिका-१ का वडाध्यक्ष मोहन बस्नेतले आफ्नो वडामा १६ वटा छाउगोठ भत्काइएको बताए। गत वर्ष पनि वडाले अभियान चलाउन खोज्दा केही स्थानीयको अवरोधका कारण रोकिएको थियो।
‘अहिले नागरिकहरू पहिलेभन्दा धेरै सचेत भएका छन्, त्यसैले अभियानमा पहिलाजस्तो अवरोध भएको छैन’, उनले भने।
कमला दमाईको मृत्युपछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काएमा कानुनी कारबाहीका साथै १० हजार रुपैयाँ जरिवाना गर्ने चेतावनीसमेत दिएको थियो, जसले अभियानलाई थप प्रभावकारी बनाएको छ।
साउन २८, २०८२ बुधबार ०८:०५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।