‘नेप्से एआई’को पासो, शेयर बजारमा नाफाको लोभ देखाएर २८ लाख ठगी

‘नेप्से एआई’को पासो, शेयर बजारमा नाफाको लोभ देखाएर २८ लाख ठगी

काठमाडौं : सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाई शेयर बजारमा अत्यधिक नाफा कमाइदिने प्रलोभनमा पारेर ‘नेप्से एआई’ नामक एपमार्फत ठगी गर्ने नयाँ प्रवृत्ति देखिएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले यस्तो एप डाउनलोड गर्न लगाइ प्रयोगकर्ताको बैंक खाताबाट लाखौँ रुपैयाँ चोरी हुने गरेको घटना सार्वजनिक गर्दै सर्वसाधारणलाई सचेत गराएको छ।

ब्यूरोका अनुसार, फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालमा ‘एआईमार्फत शेयर बजारको विश्लेषण गरी उच्च नाफा कमाउन सकिने’ जस्ता भ्रामक विज्ञापन देखाइन्छ। उक्त विज्ञापनमार्फत प्रयोगकर्तालाई ‘नेप्से एआई’ नामक एप डाउनलोड गर्न प्रेरित गरिन्छ।

एप इन्स्टल भएपछि ह्याकरले ‘रिमोट सेसन’ मार्फत प्रयोगकर्ताको मोबाइलमा पहुँच बनाउँछन्। त्यसपछि क्षणभरमै पीडितको बैंक खातामा रहेको सम्पूर्ण रकम अर्कै खातामा ट्रान्सफर गर्ने र प्रमाण नष्ट गर्न मोबाइलमा भएका सम्पूर्ण डाटाहरू मेटाइदिने गरेको पाइएको छ।

यस्तै ठगीको शिकार भएका एक पीडितले हालै ब्यूरोमा उजुरी दिएका छन्। उनले फेसबुकमा विज्ञापन देखेपछि ‘नेप्से एआई’ एप डाउनलोड गरेका थिए। एप इन्स्टल गर्नेबित्तिकै उनको मोबाइल स्क्रिन केही समयका लागि बन्द भयो।

त्यहीबीचमा उनको विभिन्न बैंक खातामा रहेको रु. २८ लाख ६१ हजार अन्य खातामा सारिएको थियो। साथै, उनको मोबाइलमा रहेका सम्पूर्ण डाटा र एपहरू पनि मेटिएका थिए। साइबर ब्यूरोले यस्ता प्रकृतिका उजुरीहरू पहिले पनि आएको तर यो घटनामा ठगीको नयाँ र संगठित स्वरूप देखिएको जनाएको छ।

यस्ता आर्थिक अपराधबाट बच्न साइबर ब्यूरोले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट आउने आकर्षक विज्ञापन र अपरिचित लिङ्कहरूमा क्लिक नगर्न तथा गुगल प्ले स्टोर वा एप्पल एप स्टोरजस्ता आधिकारिक स्रोतबाट मात्रै एपहरू डाउनलोड गर्न ब्यूरोले सुझाएको छ।

यसैगरी, सामाजिक सञ्जाल र बैंकिङ एपहरूमा बलियो पासवर्ड राख्ने, समय-समयमा परिवर्तन गर्ने र सम्भव भएसम्म दोहोरो सुरक्षा प्रणाली प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ। ब्यूरोले आफ्नो डिजिटल उपकरण अपरिचित व्यक्तिलाई नदिन र कुनै पनि शङ्कास्पद गतिविधि वा ठगी भएको थाहा पाउनासाथ सम्बन्धित बैंक र नजिकको प्रहरी कार्यालयमा तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ।

साउन २८, २०८२ बुधबार ०७:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।