प्रतिनिधिसभामा आज मन्त्रीहरूसँग प्रश्नोत्तर, महत्त्वपूर्ण विधेयकहरू समितिमा छलफलको केन्द्रमा

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ। आजको बैठकमा पाँच मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूमाथि छलफल र जवाफदेहिताको कार्यक्रम छ।
यसका साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने महत्त्वपूर्ण कार्यसूची पनि रहेको छ।
प्रतिनिधिसभा बैठकका साथै आज विभिन्न चार महत्त्वपूर्ण संसदीय समितिहरूको बैठक पनि बस्दैछ। समितिहरूमा विभिन्न विधेयक र समसामयिक विषयमा छलफल हुनेछ।
अर्थ समितिमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल गर्ने कार्यसूची छ भने कानुन, न्याय तथा मानव अधिकार समितिमा हालै कैलाली कारागारमा घटेको घटना, त्यसको प्रभाव र समस्या समाधानका उपायबारे गृहमन्त्रीसँग छलफल गरिँदैछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ का सम्बन्धमा र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरूमाथि छलफल हुनेछ।
साउन २८, २०८२ बुधबार ०७:२१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।